महानवमीमा सिद्धिदात्री भगवतीको विशेष आराधना र नवरात्रको समापन

डिसी नेपाल
३ कार्तिक २०८३ ८:०४

काठमाडौं।  नवरात्रको नवौँ दिन आज घर-घर तथा शक्तिपीठहरूमा महानवमी पर्व मनाइँदैछ। यस दिन नवदुर्गामध्येकी नवौँ स्वरूप श्री सिद्धिदात्री भगवतीको विशेष पूजा-आराधना र वन्दना गर्ने धार्मिक परम्परा रहेको छ।

उपप्राध्यापक डा. नारायणप्रसाद निरौलाका अनुसार महानवमी नवरात्रभर गरिने दैनिक पाठ, पूजा-अर्चना तथा धार्मिक कर्मकाण्डको समापन गर्ने अत्यन्त महत्वपूर्ण दिन हो।

“शास्त्रमा ‘नवमं सिद्धिदात्री च’ भनिएको छ। महानवमीमा सिद्धिदात्री भगवतीको विशेष आराधना गरिन्छ। नवरात्रअन्तर्गत नौ दिनसम्म नियमित रूपमा गरिने पाठ तथा धार्मिक अनुष्ठानहरू यसै दिन समापन हुन्छन्। त्यसैले यो नवरात्रका सम्पूर्ण अनुष्ठान पूरा गर्ने अन्तिम र मुख्य दिन हो,” उनले भने।

महानवमीपछि भोलिपल्ट विजयादशमीका दिन नवरात्रको पूजा-प्रसाद विसर्जन गरी मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा ग्रहण गर्ने परम्परा रहेको उनले जानकारी दिए।

डा. निरौलाका अनुसार नवरात्रको नौ दिनको व्रत र अनुष्ठानको अन्तिम दिन भएकाले महानवमीलाई विशेष महत्वका साथ लिइन्छ। यस दिन सर्वसिद्धि प्राप्तिका लागि नौ जना साना कन्यालाई देवीको स्वरूप मानी पूजा गर्ने, भोजन गराउने तथा खीरलगायतका परिकार खुवाउने परम्परा रहेको छ। यसरी नवकन्या पूजा गर्दा शुभ फल र भगवतीको विशेष कृपा प्राप्त हुने धार्मिक मान्यता रहेको उनले बताए।

नवरात्रका अन्य दिनहरूको तुलनामा नवौँ दिनलाई अझ बढी फलदायी र विशेष मानिन्छ। नौ दिनसम्म गरिने कठोर साधना, व्रत, पाठ तथा धार्मिक कर्महरू महानवमीका दिन विधिपूर्वक समापन गरिने भएकाले यस दिनको धार्मिक तथा सांस्कृतिक महिमा अद्वितीय रहेको उनले स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *