वर्षमा एक दिन खुल्ने ऐतिहासिक तलेजु भवानी मन्दिर महानवमीका अवसरमा सर्वसाधारणका लागि खुला

डिसी नेपाल
३ कार्तिक २०८३ ६:४२
4
Shares

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज  बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको छ । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ ।

हनुमानढोका दरबार हेरचाह अड्डाले साेमबार आयोजना गरेको सरोकार भएका निकायसँगका छलफलका क्रममा बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म तलेजु भवानी मन्दिर सर्वसाधारणलाई पूजा, आराधना एवं दर्शनका लागि खुला गरिने निर्णय भएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन्।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तुलजा भवानीलाई गत असोज ३१ गते शनिबार बिहान ०७ः३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ। तुलजा भवानीलाई त्यसै दिन बिहान १०ः३९ बजेको साइतमा स्थिरासनमा राखिएको थियो ।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी आज राति कालरात्रि पूजा गरिँदैछ। कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने पनि हेरचाह अड्डाले जनाएको छ।

विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान १०ः५१ बजे यात्रा गराइने छ । त्यसै दिन बिहान ११ः५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *