घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका
बसमा चढ्दै यात्रु
बुटवल, २ कात्तिकः
दशैं मनाउन गाउँघर जान सोमबार बुटवल बसपार्कमा बस चढ्दै यात्रुहरू। तस्बिरः सुमित्रा चापागाई (अधिकारी)÷रासस
काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ७६ हजार नाघेको छ। घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत यात्रुहरू बाहिरिएका हुन्। दसैँ नजिकिएसँगै अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेपछि प्रमुख नाकाहरूमा यात्रुको चाप बढेको छ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्नेमा दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन्। दसैँ मनाउन घर फर्किने क्रम बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप पनि बढ्दै गएको छ।
नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रुहरू बाहिरिने क्रम जारी छ। यात्रुको चाप बढेपछि सवारी आवागमन सहज बनाउन र सम्भावित दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले निगरानी बढाएको छ।
एसएसपी काफ्लेले दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको बताए। यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आवश्यक निगरानी तथा व्यवस्थापन भइरहेको उनको भनाइ छ।
लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सवारी चलाउने समयबारे विशेष ध्यान दिनुपर्ने प्रहरीले जनाएको छ। यात्रु तथा चालक दुवैले सावधानी अपनाएमा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने प्रहरीले आग्रह गरेको छ।
दसैँ नेपालीहरूको प्रमुख सांस्कृतिक तथा पारिवारिक पर्व भएकाले यस अवसरमा देशका विभिन्न स्थानमा अध्ययन, रोजगारी र व्यवसायका लागि बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किने गर्छन्। उनीहरू फर्किन थालेसँगै काठमाडौं उपत्यकाका सडक, बसपार्क र बाहिरी नाकाहरूमा चहलपहल बढेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment