मिस्त्रीखोलाले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता

डिसी नेपाल
३ कार्तिक २०८३ १८:४१
4
Shares

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मिस्त्रीखोलाले बगाएर आज एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन्।

खोलाले बगाएर स्थानीय छ वर्षीया अनिशा बुढामगरको मृृत्यु भएको र तीन वर्षीया कृष्टिका बुढामगर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले जानकारी दिए।

“दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका बालिकाहरुलाई मिस्त्रीखोलाले बगाएर बेपत्ता बनाएको हो,” उनले भने, “अनिशाको शव भेटिएको छ भने कृष्टिकाको खोजी जारी छ।” मृतक र बेपत्ता बालिका दुई बहिनीका छोरीहरु हुुन्।

सो घटनाको जानकारी हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयबासी समेतको सहभागितामा बालिकाको खोजी भइरहेको छ।

यसैबीच, नारच्याङका बासिन्दा तमबहादुर चोचाङ्गी पुनले मिस्त्रीखोला जलविद्युत् आयोजनाको गम्भीर लापरबाहीका कारण घटना भएको बताए। “बिहान सुकेको खोलामा जलविद्युत् आयोजनाले पूर्वसूचना बिनै बाँधबाट एक्कासि पानी छोडेका कारण बालिकाहरुलाई बगाएको हो,” उनले भने।

सो घटनाको सन्दर्भमा अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक गोतामेले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *