एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

डिसी नेपाल
२१ कार्तिक २०८३ १५:१६

काठमाडौं । विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई नेपाल) ले नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजमा आयोजना गरेको ‘एआई एण्ड हाई–टेक करिअर्सः क्रियटिङ द नेक्स्ट जेनेरेसन अफ इम्प्लोयमेन्ट इन नेपाल’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले प्रविधिको उपयोगमार्फत उच्च मूल्यका नयाँ रोजगारी सिर्जना गर्न सकिने धारणा राखेका हुन्।

‘अध्यापन सफ्टवेयर’ एकेडेमिक ईआरपी साझेदार रहेको उक्त कार्यक्रममा प्रविधिले श्रम बजारमा ल्याएको परिवर्तन र नेपालको सम्भावनाबारे छलफल गरिएको थियो। कार्यक्रममा सीएसआरआई नेपालका अध्यक्ष तथा वल्र्ड एआई एलायन्सका सल्लाहकार डा. शालिग्राम पराजुलीले नेपालले शारीरिक श्रम निर्यात गर्ने परम्परागत परिपाटीलाई बदलेर मानव बौद्धिकता, प्रविधि र डिजिटल सेवा निर्यात गर्ने विकास मोडल अवलम्बन गर्नुपर्ने बताए।

नेपाललाई एआई नवप्रवर्तन, साइबर सुरक्षा, बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) तथा प्रविधि निर्यातको गन्तव्य बनाउनुपर्ने उल्लेख गर्दै उहाँले युवाहरूलाई रोजगारी खोज्नमा मात्रै सीमित नराखी प्रविधि उद्यमी बनाउनुपर्ने धारणा राखे। दिगो स्टार्टअप प्रणालीका लागि अनुसन्धान कोष, इन्क्युबेसन), मेन्टरशिप र अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्न सरकार, निजी क्षेत्र, विश्वविद्यालय र लगानीकर्ताबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

यसैगरी सीएसआरआई नेपालका संस्थापक अध्यक्ष तथा क्यान महासङ्घका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले प्रविधिमा आएको रूपान्तरणसँग अनुकूल हुन नसक्नेहरूका लागि आगामी दिन थप चुनौतीपूर्ण हुने बताए।

श्रमको सट्टा बौद्धिक र प्राविधिक क्षमता निर्यात गर्नुपर्नेमा जोड दिँदै उनले बजारको माग अनुसार समयमै नयाँ सीप सिक्नुपर्ने र प्रविधिको प्रयोग गर्दा मानवीय चेतना एवं विवेकलाई सधैँ सजग राख्नुपर्ने उल्लेख गरे।

छलफलका क्रममा एआईको विकाससँगै बजारमा प्राविधिक तथा गैर–प्राविधिक भूमिकाहरूको माग बढ्दै गएको विषयमा समीक्षा गरिएको थियो। मसिन लर्निङ इन्जिनियर, प्रम्प्ट इन्जिनियर, डेटा साइन्टिस्ट, रोबोटिक्स इन्जिनियर जस्ता प्राविधिक विज्ञहरूसँगै डेटाको गोपनीयता र नैतिक प्रयोग सुनिश्चित गर्न एआई अडिटर, नीति निर्माता र साइबर सुरक्षा विज्ञहरूको खाँचो औँल्याइएको थियो।

साथै कार्यक्रममा स्वास्थ्य निदान, ऊर्जा इन्जिनियरिङ सर्वेक्षण, बजार अनुसन्धान जस्ता क्षेत्रहरूमा मानव र एआईको सहकार्यबाट नयाँ रोजगारीका अवसरहरू सिर्जना भइरहेको तथ्याङ्क प्रस्तुत गरियो।

विश्वविद्यालय, पूर्वाधार र नीतिगत व्यवस्थाबारे बोल्दै काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा सीएसआरआई नेपालका वरिष्ठ उपाध्यक्ष गजेन्द्र शर्माले देशका १७ वटा विश्वविद्यालयहरू एआई युगमा प्रवेश गरे पनि हालसम्म स्पष्ट एआई नीति बन्न नसकेको बताए। उनले राष्ट्रिय एआई नीति २०२५ का सुशासन, मानव पुँजी, अनुसन्धान, आर्थिक एकीकरण, सार्वजनिक–निजी साझेदारी र नागरिक अधिकार गरी छ वटा स्तम्भहरू कार्यान्वयन गर्दै सातै प्रदेशमा एआई एक्सिलेन्स सेन्टर स्थापना गर्नुपर्ने माग राखे।

सोही अवसरमा सीएसआरआई नेपालका उपाध्यक्ष एवम् नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार रोयले उच्च प्रविधियुक्त जनशक्ति निर्माणका लागि दूरसञ्चार पूर्वाधार र सञ्जालको पहुँचको भूमिकाबारे प्रस्ट पारे।

वित्तीय क्षेत्रका विज्ञहरू बन्दना शर्मा र सङ्गम न्यौपानेले बैंकिङ प्रणालीमा डिजिटल भुक्तानी, साइबर सुरक्षा र एआई–आधारित सुरक्षा प्रणालीले सिर्जना गरेका नयाँ अवसरहरूबारे चर्चा गरे भने वल्र्ड एआई एलायन्सका अध्यक्ष उज्ज्वल रोयले सीएसआरआई नेपालजस्ता अनुसन्धानमूलक संस्थाहरूलाई राज्यले प्रविधि क्षेत्रको थिङ्क–ट्याङ्कका रूपमा उपयोग गर्नुपर्ने सुझाव दिए।

कार्यक्रमले एआईले कार्यक्षमता बढाए पनि अन्तिम निर्णय गर्ने अधिकार र मानवीय विवेक प्रविधिलाई सुम्पिन नहुने तथा नीतिगत स्पष्टता र डिजिटल सीप अभिवृद्धि नै आजको मुख्य आवश्यकता रहेको निष्कर्ष निकालेको छ।

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई नेपाल) नेपालको साइबर सुरक्षा, एआई तथा सूचना प्रविधिको क्षेत्रमा नीतिगत अनुसन्धान, प्राविधिक जोखिम विश्लेषण, जनचेतना र दक्ष जनशक्ति विकासका लागि क्रियाशील गैर–नाफामूलक प्राज्ञिक संस्था हो। सीएसआरआईले सरकारी निकाय, निजी क्षेत्र र विश्वविद्यालयहरूसँगको सहकार्यमा राष्ट्रको डिजिटल सुरक्षा सुदृढीकरणमा काम गरिरहेको छ। यस संस्थाले हालै बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ समेत घोषणा गरेको छ।

यस अनुसन्धान अनुदानको मुख्य उद्देश्य वित्तीय क्षेत्रमा एआईको तीव्र विस्तारसँगै बढ्दो साइबर जोखिम, डिजिटल ठगी र डेटा गोपनीयताका जटिल चुनौतीहरू नियन्त्रण गर्न स्वदेशमै भरपर्दो प्राविधिक समाधान तथा नीतिगत ढाँचा विकास गर्नु, बाह्य प्रविधिमाथिको निर्भरता न्यूनीकरण गर्नु र प्राज्ञिक अनुसन्धानकर्ताहरूलाई उद्योगका वास्तविक समस्या समाधानमा प्रत्यक्ष जोड्नु रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *