डा. केसीलाई काठमाडौं ल्याउने प्रयास, सेनाको हेलिकप्टर डडेल्धुरा पुग्यो

डिसी नेपाल
२५ कार्तिक २०७६ १३:१०

डडेल्धुरा । आठ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिन थालेपछि उनलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । डडेल्धुरा अस्पतालमा आवश्यक पर्ने जनशक्ति र उपकरण नभएकाले डाक्टर केसीको जटिल स्वास्थ्य अवस्थाको व्यवस्थापन गर्न नसक्ने जनाएपछि थप उपचारका लागि काठमाण्डौ ल्याउन नेपाली सेनाको हेलिकप्टर डढेल्धुरा पुगेको हो । तर डाक्टर केसीले भने आफ्नो माग पूरा नभएसम्म काठमाण्डौ नजाने अडानमा छन् ।

यसअघि पनि आफूसँग सरकारले पटकपटक सहमति गरेको तर पालना नभएको भन्दै डडेल्धुरामा नै अनशन बस्ने अडान लिएको उनका सहयोगी प्रितम सुवेदीले बताए । केसीलाई लिन हेलिकप्टर पुगे पछि डडेल्धुरामा आन्दोलन भइरहेको छ । उनीहरुले डाक्टर केसीको मागमा समर्थन जनाउँदै सोमबार सरकारी गाडी चलाउन दिएका छैनन् । यसअघि जुम्लामा १५ औँ अनशनका क्रममा केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि प्रहरीले बल प्रयोग गरेर उपचारमा लागि पठाएको थियो ।

डडेल्धुरा अस्पतालले आइतबार विज्ञप्ति निकालेर डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएकोले उपचारका लागि अरु ठाउँमा लैजान आग्रह गरेको थियो । २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको अहिलेको प्रक्रिया रोकी मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने, आन्दोलनरत मेडिकल विद्यार्थीका माग पूरा गर्दै निजी मेडिकल कलेजले अवैध रुपमा असुल गरेको रकम फिर्ता गर्नुपर्ने, ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकलाई फौजदारी कानून बमोजिम कारबाही गर्नुपर्नेलगायतका मागसहित केसीले गएको सोमबारदेखि १७ औँ अनशन सुरु गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.