एउटै बोकाको मूल्य रु तीन लाख

डिसी नेपाल
२६ कार्तिक २०७६ १२:५३

बेनी। एउटै बोकाको मूल्य करीब रु तीन लाख परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई रु दुई लाख ९० हजारमा बिक्री गरेका छन्। बेनी नगरपालिका–९स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आउनुभएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको बताए।

उनले सञ्चालन गरेकाे धवलागिरि बोयर मोडल फार्मबाट स्याङ्जास्थित कालीगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले ८० किलोको क्रस नगरिएको सो बोका रू दुईलाख ९० हजार खर्चिएर खरीद गरेको जानकारी दिए।

रिजालको फार्ममा अहिले सात शुद्ध बोयर र २५ क्रस बोयर जातका बाख्रा छन्। स्थानीय जातका बाख्रामा नश्ल सुधारका लागि रिजालले अष्टे«लियाबाट उत्नत जातको बाख्रा आयात गरी ल्याएका थिए।

विगत पाँच वर्षदेखि स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्न थालिएको र नश्ल सुधार गरिएका बोयर बाख्राका पाठापाठी एउटैलाई रू एक लाखदेखि रू दुई लाखसम्ममा बिक्री गर्दै आएको किसान रिजालले बताए।

अहिले उक्त जातका बोका र पाठीको माग अत्यधिक रहेको र माग पुर्याउन कठिन भएको उनले जानकारी दिए। छिटो तौल बढ्ने, मासु राम्रो हुने र आम्दानी पनि राम्रो हुने भएपछि पछिल्लो समय किसान बोयर बाख्रापालनतर्फ आकर्षित भएका हुन्।

सामान्यतया छ महीनासम्मको बोयर पाठापाठी ३० किलोसम्मको हुने गर्छ। किसानले ८० किलोभन्दा बढी तौलका बोका पालेर बिक्री गर्दै आएका छन् ।

सन् १९०० को पहिलो दशकमा दक्षिण अफ्रिकामा विकास भएको बोयर जातको बाख्रामा छिटो शारीरिक वृिद्ध, तौल वृद्धि, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमत्ता बढी हुने र स्थानीय हावापानी अनुकूल भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.