पाँचौँ दशैँ जुत्ताचप्पल प्रवर्द्धन मेला शुरु, ५० प्रतिशत सम्म छुट

डिसी नेपाल
७ भदौ २०७९ २१:२०

काठमाडौं । बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशन अफ नेपालले आजदेखि सुरु गरेको पाँचौँ दशैँ जुत्ताचप्पल प्रवर्द्धन मेलाको उद्घाटन गर्दै उनले समृद्ध प्रदेश निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका हुन् ।

“मुलुकमा औधोगिक वातावरण जबसम्म निर्माण हुँदैन, तबसम्म देशको विकास हुन सक्दैन,” उनले भने । प्रदेश सरकार उद्योगको विकासका लागि सधैँ अगाडि बढ्ने उनको भनाई छ । उनले प्रदेश सरकारले कृषि औजार कार्यक्रमलाई पनि प्राथमिकता दिएको बताए ।

औधोगिक क्षेत्रका लागि आवश्यक जनशक्ति निर्माण गर्न प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने मन्त्री श्रेष्ठले स्पष्ट पारे । मन्त्री श्रेष्ठले घरेलु तथा साना उद्योग विकास समिति प्रदेशका सबै जिल्लामा रहेको बताउँदै उक्त कार्यालयमार्फत औधोगिक गतिविधि भइरहेको उल्लेख गरे ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले जुत्ताचप्पल मेला आयोजना गरिएको जानकारी दिए । मेलाले एक अर्का उद्यमीबीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण निर्माण गर्ने उनको भनाइ छ ।

मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गरिएको बताए । उनले कोरोना महामारीका कारण धराशायी बनेको नेपाली जुत्ताचप्पल उद्योगको विकासका लागि मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका एक हजार मोडलका जुत्ता पाउन सकिनेछ । मेला भदौ २० गतेसम्म चल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *