ईपीएल इलिमिनेटर : भैरहवा र चितवनको लक्ष्य क्वालिफायर

डिसी नेपाल
४ पुष २०७५ ४:२५

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको इलिमिनेटर खेल आज (बुधबार) हुँदैछ ।

इलिमिनेटरमा शरद भेषावकरको टिम भैरहवा ग्लाडीयटर्स र पृथु बास्कोटाको टिम चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन् ।

टियु क्रिकेट मैदानमा हुने भैरहवा र चितवनबीचको इलिमिनेटर खेल अपरान्ह १२:४५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित प्रतिस्पर्धाका लागि मैदान उत्रनेछन् ।

प्रतिस्पर्धाका लागि मैदान उत्रदा साविकको विजेता भैरहवा र पहिलोपटक प्ले अफमा पुगेको चितवनको लक्ष्य फाइनल प्रवेशको लागि हुने क्वालिफायरमा पुग्नु हुनेछ । इलिमिनेटर विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउने छन् । र, दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेनसंग खेल्नेछ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

मंगलबार भएको पहिलो क्वालिफायरमा काठमाडौं ललितपुर प्याट्रियट्ससंग १ विकेटले पराजित हुँदै दोस्रो क्वालिफायरमा झरेको थियो । ललितपुर भने फाइनलमा पुगिसकेको छ । दोस्रो क्वालिफायरमा विजेता हुने टोलीले फाइनलमा ललितपुरसंग खेल्नेछ ।

जारी लिगको प्रदर्शन हेर्दा चितवनभन्दा भैरहवा बलियो देखिएको छ । भैरहवा लिग चरणमा तेस्रो स्थानमा रहदै लिमिनेटरमा पुगेको हो । लिग चरणमा भैरहवाले ५ खेलमा ३ जितसहित ६ अंक जोडेको थियो ।

यता, सुरुवाती ३ खेल गुमाएपनि अन्तिम दुई खेल जितेर चितवनले प्ले अफमा स्थान बनाएको हो । लिगमा ४ अंक जोडेको चितवन नेट रन रेटको आधारमा चौथो स्थानमा रहदै प्ले अफ पुगेको हो ।

साविकको विजेता विराटनगर वारिवर्ससंग बराबरी अंक भएपनि चितवन रन रेटमा अघि भएको थियो । विराटनगर भने बाहिरिएको थियो ।

यस्तै भैरहवाविरुद्ध मैदान उत्रदा चितवन लिग चरणमा व्यहोरेको हारको बदला लिने दाउमा समेत हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *