‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै,जित्नैपर्ने दबाबमा थ्री स्टार

डिसी नेपाल
७ पुष २०७५ ४:२०

काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार (आज) दुई खेल हुँदैछन्। बिहान ११ बजे हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने आजको पहिलो खेलमा थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

उपाधि दौडमा कायमै रहन थ्री स्टारलाई च्यासलविरुद्धको खेल जित्नैपर्ने बाध्यता छ। अघिल्लो खेलमा थ्री स्टारले त्रिभुवन आर्मीसँग १–१ को बराबरी खेल्दै अंक बाडेको थियो। जुन थ्री स्टारका लागि महंगो सावित भयो। आज थ्री स्टार पराजित भए या बराबरीमा रोकिए त्यसको फाइदा लिग लिडर मनाङ मर्स्याङदीलाई पुग्नेछ।

लिगको तेस्रो स्थानमा रहेको थ्री स्टारको ९ खेलबाट २२ अंक छ। दोस्रो स्थानको संकटाको २४ र शीर्ष स्थानको मनाङको २७ अंक छ। यता, च्यासललाई भने अंकतालिकामा सुधार गर्ने मौका छ। अपेक्षा अनुरुपको प्रदर्शन गर्न नसकिरहेको च्यासल १३ अंकका साथ तालिकाको सातौं स्थानमा छ।

आजै दिउँसो २ः३० मा सोही मैदानमो दोस्रो खेलमा संकटाले ब्रिगेट ब्वाइजसँग खेल्दैछ। मनाङलाई कडा चुनौति दिइरहेको संकटाले जित हात पारे लिग रोमाञ्चक बन्नेछ। मनाङसँग अंक बराबरी गर्ने अवसर नजिक रहेको संकटा ब्रिगेट ब्वाइजसँग स्पष्ट ३ अंक लिने दाउमा छ। १३ औं स्थानमा रहेका ब्रिगेटको मात्र ५ अंक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *