बिग बाश लिग छोडेर बंगलादेश प्रिमियर लिग खेल्न सन्दिप बंगलादेश प्रस्थान

डिसी नेपाल
१८ पुष २०७५ ४:५६

काठमाडौं। नेपाली बलर सन्दिप लामिछानेले अस्ट्रेलियाको घरेलु क्रिकेट बिग बाश लिगमा अबका केही खेल खेल्ने छैनन् । हिजो मेलबर्न स्टार्सको लागि चौथो खेल खेल्दै आठौं विकेट लिएका सन्दिप अब बिग बाश लिगमा फेब्रुअरीको दोस्रो साता मात्र फर्किनेछन् । उनी बिग बाश लिग छोडेर आज बिहान बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेशतर्फ लागेका हुन् ।

सन्दिपले बिग बाश लिगमा खेलेका ४ खेलमा ४ वटै विपक्षी टिमका कप्तानको विकेट लिएका छन् । उनले मंगलवार मेलबर्न क्रिकेट ग्राउण्डमा स्टार्सका लागि १ विकेट लिएका थिए । उक्त खेलमा मेलबर्न स्टार्सले मेलबर्न रेनेगड्सलाई ७ विकेटले पराजित गरेको थियो । बीबीएलको पहिलो सिजनमै शानदार प्रदर्शन गर्ने क्रममा सन्दीपले सुरुको ४ खेलमा ८ विकेट लिइसकेका छन् । उनले सिड्नी थण्डर विरुद्धको डेब्यु म्याचमा २ विकेट लिएका थिए ।

सन्दीपले बीपीएलमा डेविड वार्नरको कप्तानीमा रहेको सिलहेट सिक्सर्सबाट खेल्नेछन्। उनको टिमको पहिलो खेल जनवरी ६ मा तमिम इकबालको कप्तानीमा रहेको कमिला भिक्टरियन्ससँग रहेको छ। बीपीएल चलिरहेकै बेला नेपालको युएईसँग वनडे र टि–२० खेल छ । यो सिरिजका लागि सन्दिप उतैबाट युएई जानेछन् । जनवरी २५ देखि फेब्रुअरी ३ सम्म नेपालले युएई विरुद्ध ३ ओडिआई र ३ टी–२० सिरिज खेल्नेछ। त्यसपछि आफ्नो टिम प्लेअफ पुगेमा सन्दिप बंगलादेश प्रिमियर लिग फर्कन सक्छन् । उनको टिम प्लेअफ नपुगे उनी सिधै बिग बाश लिगका अन्तिम खेल खेल्न अस्ट्रेलिया जानेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *