ओली प्रधानमन्त्री पद छोड्न तयार भएकै हुन् ?

डिसी नेपाल
१८ जेठ २०७६ ११:३२

काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा भाग लिएर फर्किँदै गर्दा प्रधानमन्त्री ओलीले आफूले ४–५ दिनमै प्रधानमन्त्री पद त्याग्ने भन्दै व्यंग्य गरे ।

एक नेपाली राष्ट्रिय दैनिकसँग भारतको नयाँ दिल्लीमै उनले यस्तो व्यंग्य गर्नुका पछाडिको कारण थियो तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकीकरण गर्दा तत्कालीन माओवादी अध्यक्ष प्रचण्डसँग गरिएको गोप्य सहमतिको रहस्योद्घाटन हुनु ।

गोप्य सहमतिको दस्ताबेज प्रधानमन्त्री ओली भारत भ्रमणमा गएको समयमा सार्वजनिक भएको थियो ।

गत वर्षको जेठ ३ गते भएको सो सहमति जसलाई तत्कालीन समयमा सार्वजनिक गरिएको थिएन । सञ्चारमाध्यमरुमा सहमति भएको भन्ने समाचारहरु आए पनि सहमतिको दस्ताबेजमा के के कुरा थिए भन्नेबारे स्पष्ट थिएन । सहमतिलाई गोप्य राख्न खोजिएकाले सञ्चार गृहहरुले ती सहमतिका बुँदा प्राप्त गर्न सकेका थिएनन् ।

केही समयअघि मात्रै प्रकाशित एक पत्रकारको पुस्तकमा सो सहमति पत्र जस्ताको तस्तै छापिएको थियो । पुस्तकमा छापिएको सहमतिको दस्ताबेजमा धेरैको नजर नपुगिरहेका बेला सो सम्झौताका ‘स्टेक होल्डर’ तत्कालीन माओवादी अध्यक्ष र हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले सहमतिको विषयबारे बोलेपछि सहमतिको दस्ताबेज बाहिरिएको छ र यसले सरकार फेरबदलको स्पष्ट संकेत गरेको छ ।

सोही दस्ताबेजको जगमा रहेर प्रचण्डले दिएको अन्तर्वार्तासँगै प्रधानमन्त्री ओलीले आफूले ५–६ दिनमै प्रधानमन्त्री पद छाड्ने भनेर व्यंग्य गरे ।
सहमतिअनुसार अब करिब १ वर्ष केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्वमा रहनेछन् । र बाँकी कार्यकाल करिब साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । ओलीले यो कुरालाई किन व्यंग्य गरे । किन स्पष्टसँग आफू अब करिब १ वर्ष प्रधानमन्त्रीका रुपमा रहने र बाँकी कार्यकालका लागि प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा स्पष्ट बोलेनन् ? उनले सहमतिलाई स्पष्ट व्याख्या नगर्नु र व्यंग्य गर्नुको अर्थ चाँहि करिब साढे ३ वर्षको बाँकी अबधि पनि आफू नै प्रधानमन्त्री बन्न चाहेका हुन् ? यो सर्वत्र जिज्ञासाको विषय बनेको छ ।

एकातिर जनताले स्थिर सरकार चाहेको सन्दर्भ, पार्टी एकीकरणका क्रममा दुई पार्टीका अध्यक्षबीच भएको सहमति अर्कोतिर । त्यसबाहेक हालको सत्तारुढ नेकपाको नेतृत्वको सन्दर्भ अर्को महत्वपूर्ण पाटो अनि ओली र प्रचण्ड दुबैमा देखिएको शक्तिको तिर्खा । यी विषयहरुले आम रुपमा कौतुहलता बढाएका छन् ।

फेरि सत्ता पलटको खेल सुरु हुने हो कि ? लामो समयपछि अर्थपूर्ण जनमतसहित गठन भएको सरकार फेरि पदीय स्वार्थका कारण ढल्ने हो कि ? फेरि राजनीतिक स्वार्थ र विदेशी चलखेलले मुलुकलाई अस्थिरतामा धकेल्ने हो कि भन्ने चिन्ताले नागरिकमा कौतुहलता उब्जिनु सामान्य नै हो ।

यस्तो परिवेश बनिरहेका बेला आम मस्तिष्कमा उब्जिएको प्रश्नलाई ‘हल्का’ देखाउन प्रधानमन्त्रीले ओलीले गरेको व्यंग्यले सत्ताको खेल चर्को रुपमा हुनै लागेको पो रहेछ भन्ने आशंका बलियो गरी उठेको छ ।

प्रचण्डको भनाईअनुसार उनी प्रधानमन्त्री पदमा जानका लागि सम्झौता पत्र बोकेर क्यालेण्डरका पानाहरु पल्टाउँदै मिति कुरेको भन्दा पनि उनी पार्टीको कार्यकारी अध्यक्ष आफू हुनुपर्यो भन्ने डिमाण्डमा छन् । नत्र भने सम्झौता कार्यान्वयन गर, सम्झौताअनुसार बाँकी कार्याकालका लागि म प्रधानमन्त्री बन्ने हो भन्ने सन्देशसहितको घण्टी प्रचण्डले बजाएको देखिन्छ ।

तर ओलीको हल्का टिप्पणीले प्रचण्डले पूर्व सम्झौताको सम्झना जोडतोडका साथ गर्न थालेका छन् । शनिबार पनि विराटनगरमा पत्रकारहरुसँग बोल्दै प्रचण्डले त्यो विषयलाई अतिरञ्जित नबनाउनुहोस् भन्ने आग्रह गर्दैगर्दा, सहमति त भएकै हो नि भनेर आफ्नो दाबीलाई दर्बिलो बनाए ।

पार्टी एकताको एक वर्ष पुग्दा पनि अझै पोलिटब्युरो गठन हुन नसक्नु, एकता महाधिवेशनको कुनै रेखांकन नहुनु र प्रचण्डलाई सेरोमोनियल अध्यक्षको हैसियत मात्र दिनुले ओलीले दुबै भूमिकामा आफैँ रहने मनसाय प्रष्ट रुपमा देखाएका छन् ।

त्यसो त ओलीमा सरकारमै रहँदा पनि आफूले विभिन्न निकायहरु प्रधानमन्त्री कार्यालय मातहत राखेर आफूलाई शक्तिशाली प्रधानमन्त्री बनाउन हर प्रयास गरिरहेका बेला पार्टी नेतृत्वमा समेत शक्तिशाली बन्ने प्रयासमा उनी छन् । भारतबाट फर्किदै गर्दा पत्रकार ऋषि धमलाले जहाजमै गरेको एक अन्तर्वार्तामा आफूहरुबीच भएको सहमतिबारे स्पष्टसँग प्रधानमन्त्री ओली बोल्न चाहेनन् । उनले आफू विदेशमा रहेको बेला यस्ता कुरा उछालिएको भन्दै आश्चर्य प्रकट गरे ।

उनको अभिव्यक्तिबाट उनी यो कुरालाई गोप्यमै सिमित राखेर आफ्नो कार्यकाल लम्बाउन चाहन्छन्, पूर्व सहमतिअनुसार सत्ता छोड्न चाहन्नन् भन्ने आशंकालाई थप बलियो बनाउँछ । तपाईँलाई जनताले पाँच वर्षको म्यान्डेड दिएका हुन् तर किन यस्तो सहमति गर्नु भएको हो भन्ने प्रश्नमा पनि ओलीले खुलेर बोल्न नचाहनुको पछाडि उनको प्रधानमन्त्रित्वकाल लम्ब्याउने चाहना प्रष्ट देखिन्छ भने प्रचण्डलाई पार्टीको अध्यक्ष हो नि भन्ने अभिव्यक्ति नदिनुले आफू दुबैतर्फ शक्तिशाली बन्न खोजेको संकेत गर्दछ ।

तत्कालीन सहमतिबारे प्रधानमन्त्रीकै मुखबाट कुरा सुन्ने पत्रकार धमलाको अडानपछि ओलीले नेपालका मान्छे खुसी हुन्छन् भने दुई महिना, दुई हप्ता वा दुई दिनमै सत्ता छोड्ने सहमति भएको हो भन्दै जिज्ञासालाई अझै भ्रममा राख्ने प्रयास गरे ।

ओली भारतमै रहेकाबेला पुराना कागजातसहित अन्तवार्ता दिएका प्रचण्डले आफूलाई जसरी पनि एक ठाउँको कार्यकारी (पार्टी वा सरकार) चाहिएको छ भन्ने स्पष्ट संकेत दिइरहेका बेला ओलीको यस्तो प्रतिक्रिया आउँदा राजनीतिक अस्थिरता निम्तिने हो कि भन्ने आशंका आमरुपमा देखिएको छ । यो समस्याको समाधानका लागि ओलीले अध्यक्ष प्रचण्डको गुनासो सम्बोधनका लागि पार्टी अध्यक्षको एकल जिम्मेवारी उनैलाई सुम्पिनुपर्छ भन्ने सुझावहरु सतहमा देखिन थालेका छन् ।




प्रतिक्रिया