उपेन्द्रलाई गठबन्धनबाटै गलहत्याउँदै एमाले-माओवादी, मधेश सरकारबाट समर्थन फिर्ता

डिसी नेपाल
३० वैशाख २०८१ १८:३६

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जसपा विभाजनमा प्रमुख भूमिका खेलेको भनिएका सत्ता गठबन्धनका प्रमुख दलका शीर्ष नेताहरुले उनलाई नै सत्ता गठबन्धनबाट बाहिरिन बाध्य पार्ने रणनीति तय गरेका छन्।

गत आइतबार जसपा नेपाल विभाजनमा सत्ता गठबन्धनमा रहेका एमाले-माओवादीको भूमिका रहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका उपेन्द्र आफैंलाई शीर्ष नेताहरुले गठबन्धनबाट बाहिरिन बाध्य पार्ने रणनीति अन्तर्गत मधेश प्रदेश सरकारबाट अलग्गिएर समर्थन समेत फिर्ता गरेका छन्।

मधेशमा एमाले-माओवादीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि उनको दल जसपा नेपालको तर्फबाट मुख्यमन्त्री बनेका सरोज यादव अल्पमतमा परेका छन्। अब उनले प्रदेशसभाबाट फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यतासँगै सरकार अल्पमतमा परेको छ।

जसपा विभाजनमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिका रहेको आशंका व्यक्त गरिरहँदा उपेन्द्रलाई नै सरकारबाट बाहिरिनका लागि नैतिक दवाब सिर्जना गर्न प्रदेश सरकारबाट दुबै दल बाहिरिएको बताइएको छ।

जसपा विभाजन हुँदा उपप्रधानमन्त्री रहेका उपेन्द्र यादव अमेरिका भ्रमणमा थिए। उनीसँगै रहेका १२ सांसद मध्ये ७ जना विभाजित अशोक राई नेतृत्वको जसपामा लागेका छन् ।

जसपा विभाजित भएपछि उपेन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा नयाँ दल तत्कालै दर्ता गरिएको प्रति असन्तुष्टि प्रकट गरेका थिए। उनले आफ्नो दल विभाजनमा सत्तारुढ दलका प्रमुख नेताहरुको भूमिका रहेको आशंका व्यक्त गरेका थिए।

यस अघि वर्तमान गठबन्धनको विरुद्धमा कांग्रेस र एकीकृत समाजवादीसँग मिलेर वैकल्पिक गठबन्धन बनाउने प्रयत्न गरेपछि मधेश प्रदेशबाट सत्तारुढ प्रमुख दलहरुले समर्थन फिर्ता लिएर उपेन्द्रलाई वर्तमान गठबन्धनबाट बाहिरिन दबाव बढाइएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले उपेन्द्रलाई हटाएर सरकारमा जसपाबाट विभाजित अशोक राई नेतृत्वको दललाई सहभागी गराउन चाहेका छन् । सोही अनुरुप राई नेतृत्वको दलमा रहेका वनमन्त्री नवलकिशोर साह सुड्डीलाई यथावत राखेर उपेन्द्रलाई हटाउन खोजेको स्रोतको दाबी छ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका उपेन्द्रलाई हटाउने प्रधानमन्त्रीको तयारी बुझेपछि जसपा नेपालले सरकारबारे निर्णय गर्न सोमबार आकस्मिक बैठक बोलाएको छ।

सरकारबाट बहिर्गमनका लागि सत्तारुढ दलले तय गरेको रणनीीत बुझेर सोमबार कार्यकारिणाी समितिको बैठक बोलाएको हो। प्रधानमन्त्रीले बर्खास्त गर्नु अगावै सम्मानजनक रुपमा सरकारबाट बाहिरिने तयारीमा जसपा रहेको स्रोतले जनाएको छ।

जसपा नेतृत्वको मधेश सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिएका एमाले माओवादीले नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन्। मधेशमा एमालेको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारीमा सत्ता गठबन्धन लागेको बताइएको छ । मधेश प्रदेशसभामा एमाले संसदीय दलको नेता सरोजकुमार यादव रहेका छन्।

१०७ सदस्यीय मधेश प्रदेशसभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ। यस अघि चौथो पटक विश्वासको मत लिँदा जसपाका मुख्यमन्त्री यादवले ६१ मत पाएका थिए। माओवादी केन्द्र र एमाले बाहिरिएपछि अब उनको पक्षमा २८ मत मात्र रहेकोले सरकार अल्पमतमा परेको हाे।

मधेशमा एमालेका सभामुखसहित २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *