बैंकिंग सिस्टममा ह्याकिंग : हाम्रो निक्षेप कति सुरक्षित?

डिसी नेपाल
१५ भदौ २०७६ १६:४४

काठमाडौं। चिनियाँ ह्याकरले नेपाली बैंकको एटीएम सिस्टम ह्याक गरेर रकम झिकेको खुलासा भएसँगै बैंकमा जम्मा गरिएको हाम्रो निक्षेप सुरक्षाको नयाँ चुनौति देखा परेको छ।

बैंकिंग प्रणाली सूचना प्रविधि प्रणालीमा गएसँगै सुरक्षा चुनौति पनि बढेका हुन्। यहीबीचमा शनिबार चिनियाँ नागरिकहरुको एक समूहले विभिन्न ४ वटा बैंकको एटीएम सिस्टम ह्याक गरेर एक करोड ६४ लाख ५ हजार ७ सय २० रुपैयाँ निकालेको राष्ट्र बैंकले जनाएको छ। र केही नीजि एटीएम कार्ड प्रयोग गरेर केही रकम निकालिएको हुन सक्ने राष्ट्र बैंकको अनुमान छ । त्यसैले यसरी अनाधिकृत निकालिएको रकम अझै बढ्न सक्ने सम्भावना रहेको बैंकर्स एसोसिएसनले जनाएको छ।

निक्षेप कर्ताले बैंकमा जम्मा गरेको रकम अनाधिकृत व्यक्तिले चोरी गरेपछि निक्षेपकर्ताहरु चिन्तित हुनु स्वभाविकै हो। तर, हालको घटनामा निक्षेपकर्ता चिन्तित हुनुनपर्ने बैंकर्स एसोसिएसनका अध्यक्ष, नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बताउँछन्। उनले भने, ‘यो ठूलो करम होइन, निक्षेप कर्ताले कुनै क्षति व्यहोर्नु पर्दैन। जति क्षति भएको छ बैंकहरुले आफै व्यहोर्छन्।’

उनले भने जस्तै सानो रकम भएकाले बैंकहरु आफैले क्षति व्यहोर्ने भए, यदि ठूलो रकम भएको भए? प्रश्न उठ्छ। यसपछि शुरु हुन्थ्यो कानुनी प्रक्रिया। कुरा अदालतसम्म पुग्थ्यो अदालतको फैसलाअनुसार हुन्थ्यो। त्यतापट्टी नजाउँ। भविश्यमा यसरी ह्याक हुने सम्भावना र नेपालका बैंकहरुले प्रचलनमा ल्याएको सूचना प्रविधि कति सुरक्षित छ? चासो बढेको छ।

शनिबार चिनियाँ नागरिकले ह्याक गरेर अनाधिकृत रकम निकालेपछि नेपाली बैंकहरुमा रहेको सूचना प्रणालीको कमजोरी पनि पटाक्षेप भएको छ। एसोसिएसनका अध्यक्ष ढुंगाना भन्छन्, ‘यस्ता घटनाहरु भइरहन्छन्, ह्याकरहरु हामीभन्दा दुई कदम अगाडि छन्। तर, हामी सुरक्षाको चुनौति विश्लेषण गरेर सक्दो सुरक्षा अपनाउँछौं।’

राष्ट्रबैंकका अनुसार शनिबार हाल नेपाली बैंकले सञ्चालन गरिरहेका विभिन्न चार स्वीच मध्ये नेप्स नामक स्वीचमा मालवेर अट्याक भएको छ। बैंकहरुको डाटालाई भिजासम्म पुर्याएर त्यहाँबाट अनुमति लिन प्रयोग हुने एक प्रविधि हो स्वीच। सोही स्वीच ह्याक गरेर ह्याकरले भिजाबाट अनुमति लिएर रकम झिकेको बैंकर्स एसोसिएसनका अध्यक्ष ढुंगानाले प्रारम्भिक अनुमान सुनाए।

उनले वास्ताविकता फरेन्सिक प्रतिवेदन आएपछि मात्र थाहा हुने बताए। उनले बैंकले अनाधिकृत रकम झिकिएको आशंकामा प्रहरीलाई खबर गरिएको र प्रहरीले सक्रियता देखाउँदा ठूलो रकम जोगिएको बताए। राष्ट्र बैंक भुक्तानी विभागका अधिकारी बमबहादुर मिश्रले ह्याक भएको जानकारीपछि सुरक्षाका कारण शनिबार सबै बैंकको सर्भर बन्द गरिएको तर, आइतबार भने सुचारु भएको बताए। उनले प्रणाली सुधार र सुरक्षा चुनौति कम गर्न राष्ट्र बैंकले आवश्यक कदम चाल्ने बताए।

के भन्छन् जानकारहरु?

सूचना प्रविधि सम्बन्धि नेपालमा दक्ष जनशक्ति नहुनुपनि एक समस्या हो। सूचना प्रविधिका एकजना जानकार दुर्गा ढुंगाना भन्छन्, ‘हामी सँग दक्ष जनशक्ति छैन, समस्या भएपछि मात्र तातिन्छौं सम्भावित जोखिम बहनका लागि आवश्यक तयारी गर्दैनौं।’ उनले भने जस्तै यसअघि पनि स्वीफ्ट सिस्टममा समस्या भएको थियो। त्यति बेला तातिएका बैंकहरु पछि चुप लागे।

अहिले ह्याकिंगको समस्या आएपछि बैंकरहरु आवश्यक तयारी गर्ने बताउँछन्। ढुंगाना भन्छन्, ‘दक्ष जनशक्ति देशबाहिरबाट ल्याउनुपर्ने र डलरमा भुक्तानी गर्नुपर्ने भएकाले बैंकहरु सक्षम पनि भएका छैनन्। उनीहरु खर्च गर्न नचाहनु पनि एक समस्या हो।’ प्रविधिको क्षेत्रमा नयाँ कुरा पत्ता लागेसँगै जोखिम पनि जोडिएरै आउँछ। त्यसैले प्रविधिको प्रयोगसँगै सुरक्षाको व्यवस्था गर्नुपर्ने पनि पहिलो शर्त हो।

प्रहरीको अनुसन्धान

अनाधृकित रुपमा रकम झिकेको अवस्थामा ५ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले राजधानी काठमाडौंको दरबारमार्गस्थित नबिल बैंकको एटीएम बुथबाट एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीसँग सोधपुछका आधारमा मायामनोहर बुटिकको होटलमा बसिरहेका अन्य चारजना चिनियाँ नागरिकलाई भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट एक करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, चाइनिज मुद्रा ११ सय ११, २५० यूरो, क्याम्बोडियन मुद्रा ५ हजार, हंगकंग डलर ८० बरामद गरेको प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए।

यस्तै उनीहरुको साथबाट नक्कली भिषा कार्ड १३२, सक्कली भिषा कार्ड १७, मोबाइल ६ थान, ल्यापटप १ थान, डाटा कार्ड एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।

आइतबार गरिएको पत्रकार सम्मेलनमा एसएसपी सुवेदीले घटनाबारे अनुसन्धान शुरु भएको बताए। उनले यो घटनामा नेपालीहरु संलग्न रहेको कोणबाट पनि अनुसन्धान भइरहेको बताए। उनले प्रहरीको सक्रियतामा ठूलो रकम जोगिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *