कांग्रेसको जागरण अभियानः रित्तै जनताकहाँ किन जाने ?

डिसी नेपाल
२९ भदौ २०७६ ११:२४

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस यतिबेला दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा छ। जनतासँग प्रत्यक्ष भेटघाट गर्न कांग्रेसले दोस्रो चरणको जागरण अभियान संचालन गरेको हो। यो जागरण अभियानबाट नेताले कार्यकर्ताको र कार्यकर्ताले नेताको मुख देख्न पाउने भएका छन्।

यो जागरण अभियानले ‘कांग्रेस मृत वा जीवित’ भन्नेलाई कांग्रेस जीवितै छ है भन्ने सन्देश दिएको छ। अहिले कांग्रेस चलायमान भयो जसको फलस्वरुप नेता र कार्यकर्ताबीच भेटघाट र सम्पर्क बढेको छ। जागरण अभियानले कांग्रेस छ है भन्ने सम्मको सन्देश कांग्रेसप्रति विश्वास राख्ने जनतालाई दिएको छ ।

तर, कांग्रेस छ भन्ने सन्देश मात्र जनतामा पुग्दैमा कांग्रेस बलियो भइहाल्ने स्थिति छैन । जनताले कांग्रेस के कामका लागि छ ? भन्ने पनि थाहा पाउनुपर्छ । अब कांग्रेसले के गर्ने लक्ष्य लिएको छ ? उसको मुद्दा र एजेण्डा ? के हो भन्ने पनि जनताले थाहा पाउनुपर्छ । त्यसपछि मात्र कांग्रेसको भविष्य निर्धारण हुन सक्छ।

कांग्रेसका सीमित नेता कार्यकर्ता मात्र कांग्रेस होइनन् । कांग्रेस बन्नको लागि उसलाई आम जनताको पनि साथ र समर्थन चाहिन्छ । कांग्रेस न रेलको इन्जिन मात्र हो जसले आम जनतालाई सही दिशातिर लैजान नेतृत्व गर्छ । उसका एजेण्डा र मुद्दालाई जनताले समर्थन गरेमा मात्र कांग्रेस बलियो हुने हो ।

कांग्रेसले जबसम्म निश्चित मुद्दा र एजेण्डा तय गर्न सक्दैन, तबसम्म यस प्रकारका जागरण अभियान प्रभावकारी हुन सक्दैनन्। कांग्रेसले आफू यसकारण जनता समक्ष आएको हो भन्ने स्पष्ट नपार्दासम्म कांग्रेसप्रतिको विश्वास बढ्ने संभावना देखिँदैन। किनकि जनताले पार्टीलाई साथ र समर्थन दिने होइनन्।

कांग्रेसले जनता समक्ष जाँदा कांग्रेसको यो सिद्धान्त हो, कांग्रेस यो कामका लागि जनता समक्ष आएको हो भनेर निश्चित नीति तय गर्न सक्यो भने मात्र यस्ता अभियान सार्थक हुन्छन्। अब जनता बुझ्न सक्ने भएका छन्। जनताका लागि के चाहिएको छ भन्ने कांग्रेसले पनि बुझ्न आवश्यक छ।

जनताले त पार्टीले उठाएका मुद्दा र एजेण्डालाई समर्थन दिने हुन्। यदि यस्तो नहुँदा हो त हिजो दुई तिहाइ बहुमत ल्याउने कांग्रेस आज दुई तिहाइ अरुलाई सुम्पेर निरीह प्रतिपक्ष भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो। जनताले एजेण्डा नभइ पार्टीलाई समर्थन गर्थे भने त हिजो कांग्रेसलाई बहुमत दिने जनताले आज पनि बहुमत दिन्थे।

पछिल्लो समय कांग्रेसले के कुराको पक्ष लिन्छ र केको विरोध गर्छ भन्ने कुरा जनताको निगरानीमा छन्। कांग्रेसले केमा विरोध गर्छ र केमा समर्थन गर्छ भनेर आम जनताले प्रश्न उठाइसकेका छन्। संसारलाई देख्दा कांग्रेसले अबको युगमा के नीति, सिद्धान्त र धारणा बनाएको छ र आम सर्वसाधारणलाई के कुरा लिएर जाँदैछ भन्ने मुख्य प्रश्न हो।

त्यही प्रश्नको जवाफले कांग्रेसको भविष्य निर्धारण गर्ने हो । आम जनताले चाहेका एजेण्डा कांग्रेसले उठाउन सक्यो र ती एजेण्डा पूरा गराउन कांग्रेसको नेतृत्व सक्षम छ भन्ने जनतालाई लाग्यो भने मात्र जनताले उसलाई साथ दिने हुन् ।

त्यो कुरा कांग्रेससँग छ कि छैन? कांग्रेसले जनता समक्ष जाँदा कांग्रेसको यो सिद्धान्त हो, कांग्रेस यो कामका लागि जनता समक्ष आएको हो भनेर निश्चित नीति तय गर्न सक्यो भने मात्र यस्ता अभियान सार्थक हुन्छन्। अब जनता बुझ्न सक्ने भएका छन्। जनताका लागि के चाहिएको छ भन्ने कांग्रेसले पनि बुझ्न आवश्यक छ।

कांग्रेसले जनताले चाहेको कुरा लिएर जानुपर्छ। कांग्रेसको नेतृत्वमा संविधानसभाले संविधान बनाएर जारी गर्दा एउटा अवस्था थियो, हतारमा संविधान जारी गर्दा धेरै त्रुटि रहे, त्यसलाई हामी सच्याउँछौं भन्न सक्नुपर्छ। र, हतारमा के त्रुटि भयो भन्ने कुरा कांग्रेससँग हुनुपर्छ।

त्यसको आधारमा मुलुक चलाउने कानुन आज कम्युनिष्टले कसरी प्रस्तुत गरेका छन् ? हुनुपथ्र्यो के ? र, हाम्रो हातमा सत्ता आउँदा के गर्छौं वा के दिन्छौं? भन्ने कुरामा कांग्रेसले स्पष्ट नीति बनाउनुपर्छ।

लेखक दाहाल

 

अर्को कुरा, आजको विदेश नीतिमा अहिलेको सरकार कता केल्टे फेर्यो? अहिलेसम्मको मुलुकको परराष्ट्र नीति के हो? अबको परराष्ट्र नीति कस्तो हुनुपर्छ र बनाउनुपर्छ? त्यसमा कांग्रेसको दृष्टिकोण के हो ? कांग्रेसको हातमा सत्ता आयो भने कांग्रेसले कस्तो विदेश नीति तय गर्छ? सीमा जोडिएका मुलुक र सीमा नजोडिएका मुलुकप्रतिको कांग्रेसको नीति के हो? यी कुरामा पनि कांग्रेस प्रस्ट हुनुपर्छ ।

आज कश्मिरका सवालमा संसदमा दोहोरी चलेको देखियो। भारत र पाकिस्तानले प्रष्ट हुन अनुरोध गरे। तर, सरकार कति प्रष्ट भयो, हुनुपथ्र्यो वा भएन? अरुलाई भन्न जान्ने तर आफैं अस्पष्ट हुने कुरा त ठिक होइन। अहिले कांग्रेसको हातमा सरकार छैन भने पनि कांग्रेसमा केही त हुनुपर्यो। यो कुरा जनताले खोजेका छन्।

हामी हिजो कतिपय वस्तु निर्यात गथ्र्यौं। चामल, काठलगायतका वस्तु निर्यात गथ्र्यौं। तर आज चामल अत्याधिक मात्रामा आयात गर्छौं। काठ पनि आयात गर्छौंं। कुनै पनि चीज हामीसँग निर्यातका लागि भनेर छैन। कस्ता कुरा निर्यात हुन्छन् भने उत्पादन गरेर होइन, बनाएर मात्र निर्यात हुन्छन्। कच्चा पदार्थ ल्याएर बनाएर मात्रै निर्यात हुन्छन्।

जति जनता कमजोर बनायो त्यति कम्युनिष्टको सरकार बलियो हुन्छ भन्ने यो सरकारको नीति स्पष्ट देखियो। यसले बढाएको करको दायराले त्यही भन्छ। तर कांग्रेसले पायो भने के गर्छ?

त्यही कारण मुलुकको व्यापार घाटा बढेर गयो। यो विषयमा कांग्रेसको धारणा के हो? मुलुकमा जमीनको खण्डीकरण, विद्युतीय विकासको नाममा खोलानालाको क्षयीकरण, खानेपानीका समस्या, शहरका आफ्नै प्रकारका पीडा छन्। न पार्किङ छ, न खानेपानी नै। न फोहोर मैला व्यवस्थापनको व्यवस्था छ। करको दायरा बढाउने नाममा करको बोझ जनतामाथि थोपरेको छ। सुविधा जनतालाई केही पनि दिइएको छैन।

जति जनता कमजोर बनायो त्यति कम्युनिष्टको सरकार बलियो हुन्छ भन्ने यो सरकारको नीति स्पष्ट देखियो। यसले बढाएको करको दायराले त्यही भन्छ। तर कांग्रेसले पायो भने के गर्छ? यी कुरालाई स्पष्ट नीति बनाएर कांग्रेस जनतासम्म जान नसक्नु सिद्धान्तमा ढुलमुल हुनु र जनताले चाहेको कुरा दिन नसक्नु र त्यो सन्देश जनतामा लिएर जान नसक्नु कांग्रेसको ठूलो कमजोरी हो।

यदि कांग्रेसले यी कुरालाई लिएर जान सक्दैन भने कांग्रेसले किन गर्ने जागरण अभियान? त्यसकारण कांग्रेस ब्यूँतिन, उठ्न र बलियो भएर जनतासमक्ष जान कांग्रेससँग केही हुनुपर्छ। त्यो बनाउन कांग्रेसले जरुरी छ। त्यसले मात्रै जागरणको सही परिणाम दिन र जनता कांग्रेसको नेतृत्वमा आवद्ध भएर आउने दिनमा मात्र जनता कांग्रेसको साथमा हुनेछन्। होइन भने यो जागरण अभियान निस्प्रयोजन हुनपनि सक्छ।




प्रतिक्रिया

One thought on “कांग्रेसको जागरण अभियानः रित्तै जनताकहाँ किन जाने ?

  1. बिना एजेन्डाको जागरण अभियान !!
    काङ्ग्रेस नेतृत्वनै जन मनमा अपाच्य भएको बेला जाग्ने चैँँ को ?? काङ्ग्रेस मरेको होइन मारीएको हो… शिद्दान्त बाट स्खलित बनाएर !!

Leave a Reply to रामहरी कोइराला Cancel reply

Your email address will not be published. Required fields are marked *