वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा काँग्रेसले लिएको अडानप्रति भीम रावलको आपत्ति

डिसी नेपाल
३० भदौ २०७६ १९:१७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले लिएको अडानप्रति आपत्ति जनाएका छन्।

नेता रावलले संविधान विपरित नेपाली काँग्रेसले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अडान लिएको दावी गर्दै आपत्ति जनाएका हुन्।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो विधेयकबारे नेपाली काँग्रेसले लिएको अडान संविधान विपरित भएकाले त्यसलाई तत्काल पारित गर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिलाई दवाव दिए।

सो समितिको बैठकमा नागरिकता सम्बन्धि विधेयकमा वैवाहिक अंगीकृत नागरिकता दिन नेपाल नागरिक ऐन, २०६३ कै व्यवस्थालाई निरन्तरता दिनुपर्ने काँग्रेसको फरक मत छ। काँग्रेसको सो मत संविधान विपरित रहेकाले मान्य नहुने सत्तारुढ नेकपामा नेता रावलको तर्क छ।

नेता रावलले शीर्ष तहमा छलफल गरेर संविधान बनेकाले नागरिकताका सम्बन्धमा फेरी शीर्ष तहका राजनीतिक सहमति जुटाउने बहाना बनाएर नेपाली काँग्रेसले मुलुकको राष्ट्रियतालाई कमजोर बनाउने षडयन्त्र गरिरहेको दावी पनि गरे।

नेता रावलले विगतमा पनि नेपालको राष्ट्रिय हित विपरित विदेशीलाई नेपाली नागरिकता दिइएको उल्लेख गर्दै त्यसलाई छानविन गरेर विदेशी नागरिकले लिएका नेपाली नागरिकता सबै खारेज गर्न पनि सरकारसँग माग गरे। त्यसका लागि छानवीन गर्न उच्चस्तरीय छानवीन समिति गठन गर्नुपर्ने नेता रावलको भनाई छ ।

नेता रावलले विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाएर नेपालको राष्ट्रियतालाई कमजोर बनाउन नदिन सबै राजनीतिक दल तथा नागरिक समुदायलाई पनि सचेत गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *