फिफा वर्ष खेलाडीको अवार्ड जितेपछि मेस्सीले के भने ?
काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले फिफा वर्ष खेलाडीको अवार्ड जिते। क्रिष्टियानो रोनाल्डो र भर्जिल भ्यान डाइकलाई पछि पार्दै कीर्तिमानी छैटौँ पटक वर्ष खेलाडी बनेका उनले आफू पछिल्लो समय कमजोर बनेको बताए।
‘म झण्डै दुई महिना मैदानभन्दा बाहिर रहेँ, त्यसले ममा थकानको महसुस भइरहेको छ। खेलको लय बिग्रिएको जस्तो भइरहेको छ। हाम्रो सिजनको सुरुवात नै नराम्रो भइरहेको छ। हामीले त्यसमा सुधार गर्नुपर्ने बुझेका पनि छौँ’ मेस्सीले भने।
सोमबार राति अवार्ड वितरणमा आफ्ना लागि अवार्डको महत्व ठूलो रहे पनि व्यक्तिगत अवार्डभन्दा टिमको जितमा धेरै खुसी मिल्ने उनले बताए। मेस्सीले श्रीमती र छोराहरु माटेओ र थियागोसहित पहिलो पटक अवार्डमा आएकाले पनि त्यसको महत्व बढेको बताएका थिए। उनका सानो छोरा सिरो भने कार्यक्रममा थिएनन्।
नयाँ सिजन सुरु हुनअघि घाइते भएका बार्सिलोना कप्तान मेस्सी सुरुवातका केही खेलमा टिमबाट बाहिर थिए। कोपा अमेरिकाको खेल सकाएर बिदापछि क्लब फर्किएका मेस्सी अभ्यासको पहिलो दिनमै घाइते भएका थिए। मेस्सीको दाहिने गोडाको पिडौंलामा चोट लागेको थियो।
मेस्सीले ला लिगामा एथ्लेटिको बिल्बाओसँग १–० ले हारेको पहिलो खेल, रियल बेटिसलाई ५–२ ले हराउँदा, ओसासुनासँग २–२ को बराबरी हुँदा र भ्यालेन्सियालाई ५–२ ले हराएको खेल गुमाएका थिए।
मेस्सीको पिडौंलामा लागेको चोट केही दिनमा ठिक हुने भनिए पनि अझै उनी पूर्ण रुपमा ठिक भने भइसकेका छैनन्। उनको चोट सामान्य भने भइसकेको छ। त्यसैले च्याम्पियन्स लिगमा बोरुसिया डर्टमुन्ट र ला लिगामा ग्रानाडासँगको खेलमा उनी दोस्रो हाफको केही समय मैदानमा थिए।
यो सिजन ला लिगामा बार्सिलोनाको सुरुवात २५ वर्ष यताकै खराब भइरहेको छ। पाँच खेलमा दुई खेलमा जित, एक बराबरी र दुई खेलमा हार खेलेको बार्सिलोना अंक तालिकामा आठौँ स्थानमा छ। यो सिजन अवे मैदानमा एउटै खेल नजितेको बार्सिलोनाले मंगलबार राति पौने १ बजे भिलारियलसँग घरेलु मैदान क्याम्प नाउमा खेल्दैछ।
भिलारियलविरुद्धको खेलका लागि यसअघि घाइते रहेका स्ट्राइकर उसमान डेम्बेले पनि टिममा फर्किसकेका छन्। मेस्सी घाइते रहेको अवस्थामा टिममा आएका १६ वर्षका अन्सु फाती पनि टोलीमा समावेश छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment