सन्यास लिएको ४ महिनापछि युवराज सिंहले भने – ‘यस्तो होला भन्ने सोचेको थिइन’
काठमाडौं। भारतीय क्रिकेटर युवराज सिंहले यसै वर्षको जून महिनामा सन्यास घोषणा गरेको करिब ४ महिनापछि आफूले किन सन्यास लिनुपर्यो भन्ने विषयमा बताएका छन् । भारतीय मिडिया आज तकसँग कुरा गर्दै युवराजले भारतीय टिम प्रबन्धनले उनको अगाडि लगातार नयाँ चुनौतीहरु राखेको बताएका छन् । युवराजले कोही पनि आफूसँग बसेर टिमको योजनाको बारेमा छलफल नगरेकोमा दुःख व्यक्त गरे ।
युवराजले भने ‘च्याम्पियन्स ट्रफीपछि खेलिएका ८–९ खेलमध्ये २ मा म्यान अफ द म्याच भएको मलाई टिमबाट ड्रप गरिन्छ भनेर सोचेको थिइन । म चोटग्रस्त भएको थिएँ र मलाई श्रीलंका सिरिजको लागि तयार रहन भनिएको थियो । त्यसपछि अचानक यो–यो टेस्ट अगाडि ल्याइयो । मेरो छनोटमा यो यु टर्न थियो । ३६ वर्षको उमेरमा अचानक मलाई फर्केर यो–यो टेस्टको तयारी गर्नुपर्यो । यसपछि पनि जब मैले यो–यो टेस्ट पास गरें त्यसपछि मलाई घरेलु क्रिकेट खेल्न भनियो ।’
युवराजले अगाडि भने ‘सम्भवतः टिम प्रबन्धनलाई लागेको थियो कि आफ्नो उमेरका कारण मैले यो–यो टेस्ट पास गर्न सक्दिन । मैले टेस्ट पास गर्न नसकेपछि मलाई निकाल्न उनीहरुलाई सजिलो हुन्थ्यो । हो, तपाइँ भन्न सक्नुहुन्छ कि यो एक बहाना थियो ।’ युवराजले यसै वर्ष १० जुनमा क्रिकेटका सबै फरम्याटबाट सन्यासको घोषणा गरेका थिए । युवराज भारतको २ विश्वकप (२००७ मा टि–२० र २०११ र एकदिवसीय) विजेता टिमका सदस्य हुन् । दुवै जीतमा युवराजको महत्वपूर्ण भूमिका थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment