विश्वरेकर्ड बनाएसँगै अन्तर्राष्ट्रिय मिडियामा छाए पारस खड्का, हेर्नुहोस् कसले के लेखे ?

डिसी नेपाल
१२ असोज २०७६ १२:११

काठमाडौं। नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले गएराती भएको खेलमा इतिहास रचेका छन् । यो रेकर्डसँगै कप्तान खड्का अन्तर्राष्ट्रिय मिडियामा छाएका छन् । उनले हिजोको खेलमा ऐतिहासिक टि–२० अन्तर्राष्ट्रिय शतक मात्र बनाएनन् अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्वरेकर्ड समेत बनाए । यससँगै अन्तर्राष्टिय मिडियामा उनको चर्चा चुलिएको हो ।

नेपालका सर्वोत्कृष्ट ब्याट्सम्यान खड्काले शनिबार राती आफ्नो रेकर्ड लिस्टमा अर्को स्टार थपेका छन् । यसपटक खड्काले विश्वरेकर्ड नै बनाए । टि–२० अन्तर्राष्ट्रियमा देशको पहिलो शतकवीर बन्दै गर्दा खड्का टि–२० अन्तर्राष्ट्रियमा लक्ष्यको पिछा गर्ने क्रममा शतक बनाउने एकमात्र कप्तान बनेका छन् । यसअघि टि–२० अन्तर्राष्ट्रियमा लक्ष्य पच्छ्याउँदा कुनै पनि कप्तानले शतक बनाउन सकेका थिएनन् ।

खड्काले ४९ बलमै शतक बनाएका थिए । खड्का एशियन कप्तानमध्ये चौथो सबैभन्दा छिटो शतक बनाउने कप्तान बने । उनले कूल ५२ बलमा नटआउट १०६ रन बनाएपछि नेपालले ४ ओभर र ९ विकेट बाँकी छँदै सिंगापुरले दिएको १५२ रनको लक्ष्य हासिल गर्यो । खड्काको ऐतिहासिक इनिङमा उनले ९ छक्का र ७ चौका प्रहार गरे ।

यसअघि लक्ष्य पच्छ्याउने क्रममा कप्तानको सर्वोत्कृष्ट स्कोर नेदरल्याण्डका पिटर सिलरको नाममा थियो । उनले १२ दिनअघि स्कटल्याण्डविरुद्ध ९६ नटआउट रन बनाएका थिए । तेस्रो स्थानमा अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ छन् जसले इङल्याण्डविरुद्ध ९० रन बनाएका थिए । चौथोमा अस्ट्रेलियाविरुद्ध ८८ रन बनाएका वेष्ट इण्डिजका क्रिस गेल छन् । खड्का लक्ष्य पच्छ्याउने क्रममा सर्वाधिक स्कोर बनाउने ब्याट्सम्यानमध्ये टप १० मा २ पटक पर्छन् । गत महिला उनले मलेसियाविरुद्ध पनि नटआउट ८६ रन बनाएका थिए ।

भारतका विराट कोहली आठौं नम्बरमा पर्छन् । उनले २०१७ मा श्रीलंकाविरुद्ध लक्ष्य पच्छ्याउने क्रममा ८२ रन बनाएका थिए । यो इनिङमा अर्को विश्वरेकर्ड पनि बनेको छ । नेपालको इनिङ कुनै पनि ब्याट्सम्यानले शतक हानेकामध्ये सबैभन्दा कम स्कोर भएको इनिङ बनेको छ । यसअघि कुनै ब्याट्सम्यानले शतक हानेका इनिङमा १५४ भन्दा बढी नै स्कोर बनेका थिए ।

यसअघि ब्याट्सम्यानले शतक हानेर सबैभन्दा कम स्कोर भएको इनिङ अस्ट्रेलियाको थियो । २०१८ मा इङल्याण्डविरुद्ध अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले नटआउट १०३ रन बनाउँदा अस्ट्रेलियाको स्कोर ५ विकेटमा १६१ रन थियो । खड्काको आरिफ शेखसँग १४५ रनको पार्टनरशिप दोस्रो विकेटको लागि पाँचौं सबैभन्दा ठूलो पार्टनरशिप भएको छ । आरिफले ३८ बलमा ३९ रन बनाएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *