“वडाध्यक्षले ‘डुम’ भन्दै कुटे, उजूरी गरेपछि मार्ने धम्की आएपछि न्यायका लागि राजधानी आएँ”

डिसी नेपाल
२९ असोज २०७६ २०:५६

काठमाडौं । रुकुममा जनप्रतिनिधिले अपमान गर्दै कुटेको र न्यायका लागि उजूरी गरेपछि मार्ने धम्की आएपछि एकजना दलित विस्थापित भएका छन्।

उनी न्याय माग्न राजधानी आएका छन्। रुकुमको चौरजहारी नगरपालिका ३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले गोविन्द विकलाई जातीय गालीगलौज गर्दै कुटपिट गर्दा पनि न्याय नपाएको र उल्टै मार्ने धम्की आएको भन्दै राजधानी आएको बताए।

पीडित गोविन्द विकले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेनल गरी दोषीमाथि कडा कारबाहीको माग राखेको छ। उनले भने, ‘मलाई ‘डुम ड्यांग्रा’ भन्दै कुटपिट गरेर उल्टै ज्यान मार्ने धम्की आएपछि न्यायका लागि राजधानी आएको हुँ।

सामुदायिक वन दर्ता गर्ने विषयमा छलफल गर्न वडा कार्यालयमै बोलाएर वडाध्यक्षले कुटपिट गरेको सुनाए। उनले भने, ‘सामुदायिक वन जिल्ला वन कार्यालयमा दर्ता गर्ने विषयमा छलफल चल्दै थियो। मैले हामी पनि समितिमै बस्छु भनेपछि ‘डुम ड्यांग्रा’ भन्दै कुटपिट गरे ।’

आफूमाथिको अन्याय अरुलाई नपरोस् भनेर दोषीमाथि कारबाही अनिवार्य भएको बताए। उनले भने, ‘स्थानीय नेताहरुका सामु वडा कार्यालयभित्रबाट कुट्दै कुट्दै बाहिर ल्याएर जातीय गालीगलौज गरेपछि उजुरी गरेको हुँ ।’

प्रहरीमा उजुरी गरेपछि गाउँमै मिलापत्र गर्न दबाब बढेको र स्थानीय राजनीतिक दलका नेता र दलित अगुवाले समेत गाउँमै मिलापत्र गर्न दबाब दिएको विकले गुनासो पोखे।

सामुदायिक वनलाई जिल्ला वन कार्यालयमा दर्ता गर्ने विषयमा विवाद रहेकाले वन दर्ताका लागि समिति बनाउनुपर्नेमा केही स्थानीयलाई जिल्ला वन कार्यालयले बोलाएर परामर्श गरेको खुलाए । उनले भने, ‘यसमा म पनि सहभागी थिएँ ।’

कुटपिट गरेपछि वडाध्यक्ष बुढाथोकीले फोन गरेर धम्की दिइरहेका विकको भनाइ छ । प्रहरीमा उजुरी दिएपछि फेरि कुट्ने, मार्नेसम्मको धम्की आइरहेको सुनाए ।

गाउँका स्थानीय नेताले प्रहरीको साटो गाउँमै मिलापत्र गरी विवादलाई ढिसमिस गर्न दबाब दिएको खुलाए । तर अरुका अगाडि आफूमाथि जातीय विभेदका साथै कुटपिट भएकाले न्यायका लागि लड्ने विकले दृढता व्यक्त गरे।

उक्त कार्यक्रममा मुक्ति समाजका महासचिव कृष्ण बहादुर विश्वकर्माले जातीय भेदभाव गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ भन्दै उनले कुटपिट र जातीय विभेद गर्ने वडाध्यक्षलाई कारबाही माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *