रवि लामिछानेको पक्ष र विपक्षका २ निवेदनमाथि आज एकैपटक सुनुवाइ हुँदै

डिसी नेपाल
३० असोज २०७६ ११:५४

काठमाडौं। टेलिभिजन प्रस्तोता रवि लामिछानेसहितका तीन जनाविरुद्ध लागेको आत्महत्या दुरुत्साहन मुद्दामा आज उच्च अदालत हेटौंडामा सुनुवाइ हुँदैछ । जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले हालेको निवेदन तथा जिल्ला अदालतकै आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले हालेको पुनरावेदनमाथि एकैपटक सुनुवाइ हुन लागेको हो ।

उच्च अदालतका न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासको तेस्रो नम्बरमा यो मुद्दा पेसीमा छ । यसअघि जिल्ला अदालत चितवनले यो मुद्दामा रवि लामिछानेलाई ५ लाख, युवराज कँडेललाई ३ लाख धरौटीमा छाड्न र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । यो फैसलाविरुद्ध लामिछानेले भदौ २३ गते उच्च अदालतमा आफूहरुलाई पनि बिना धरौटी साधारण तारेखमा रिहा गरिनुपर्ने मागसहित पुनरावेदन गरेका थिए । लगत्तै भोलिपल्ट २४ गते जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरुलाई धरौटीमा समेत नछाडी पुर्पक्षका लागि थुनामै पठाउन मागसहित पुनरावेदन गर्यो । यिनै दुई पुनरावेदनको आज सुनुवाइ हुन लागेको हो ।

यी दुवै पुनरावेदनमा यसअघि भएको सुनुवाइमा उच्च अदालतले जिल्लाको फाइल मगाउने आदेश गरिसकेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने ५ लाख धरौटी बुझाइ रिहा भएका थिए । जिल्लाको निर्णय बदरको माग गर्दै उनले निवेदन दिएका थिए । उच्च अदालतमा आज हुने सुनुवाइले जिल्ला अदालतको आदेशको परीक्षण गर्नेछ । जिल्लाले गरेको फैसला बदर गर्ने वा सदर गर्ने निर्णय उच्चले गर्नेछ ।

जिल्ला अदालत चितवनले गरेको आदेशमा पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने, विदेश भ्रमण जानुअघि अदालतको अनुमति लिनुपर्ने लगायतका सर्त राखेको थियो। लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका थिए । कँडेल ३ लाख धरौटीमा र कार्की साधारण तारेखमा रिहा भएका थिए । सरकारी पक्षले लामिछानेलाई धरौटीमा रिहा गर्ने निर्णय बदर गरेर थुनामा पठाउनु पर्ने माग गरेको छ ।

उच्च अदालतले सुनुवाइपछि तीन विकल्पमध्ये कुनै एक विकल्प रोज्न सक्छ । पहिलो, उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गर्न सक्छ । दोस्रो जिल्ला अदालतको आदेश उल्ट्याउँदै तीनैजनालाई बिना धरौटी रिहा गर्ने आदेश दिन सक्छ । वा तेस्रो, जिल्ला अदालतको आदेश उल्ट्याउँदै उनीहरु तीनैजना वा कुनै १ वा २ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *