राष्ट्रपति भण्डारी म्यान्माली राजकीय भोजमा सरिक

डिसी नेपाल
१ कार्तिक २०७६ ६:२६

काठमाडौँ । म्यान्मा (म्यानमार) का राष्ट्रपति विन मिन्तले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको ऐतिहासिक म्यान्मा भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ माथि उठाउने बताएकी छिन् ।

राष्ट्रपति भण्डारी र प्रतिनिधिमण्डलको सम्मानमा बिहीबार राजधानी नेपितस्थित प्रिन्सिडेन्सियल हाउसमा आयोजित राजकीय भोजमा म्यान्माली राष्ट्रपतिले यस भ्रमणबाट आपसी विश्वास, समझदारी तथा धार्मिक सांस्कृतिक सामिप्यता झन् बढ्ने विश्वास व्यक्त गरेका छन् ।

दुई देशबीचको निकट ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक समानता र आपसी समझदारीले दुई देशबीचको मित्रताको परम्परागत सम्बन्ध कायम राखिरहेको पनि उनले बताए । उनले आफूले सन् २०१८ को राजकीय भ्रमण र गौतम बुद्धको जन्मभूमि भ्रमण गरेको पनि स्मरण गरे ।

आफूहरुको संयुक्त प्रयासले व्यापार, लगानी, पर्यटन, यातायात, उद्योग र संस्कृतिका क्षेत्रमा उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । क्षेत्रीय तथा बहुपक्षीय क्षेत्र जस्तै बिम्स्टेक, द एशिया कोअपरेशन डायलग, संयुक्त राष्ट्र सङ्घका क्षेत्रमा निकट समन्वय र सहयोग बढिरहेको बताउँदै उनले नेपालसँग क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले नेपाली मूलका बर्मेलीहरु स्थानीय समुदायसँग मिलेर बसेको तथा सामाजिक आर्थिक विकासमा योगदान गरिरहेको बताए । उनले म्यान्माको बगानका प्राचीन मन्दिर र यङ्गोनको आकर्षक स्वेदागोन पेगोडाले नेपाली प्रतिनिधिमण्डललाई म्यान्मा र नेपालका लुम्बिनी जस्ता बौद्ध तीर्थस्थलहरुबीच सम्बन्ध गाँस्न नयाँ विचार उत्पन्न हुने विश्वास गरे ।

नेपाल र म्यान्माबीचको सम्बन्धको ६० औँ वार्षिकोत्सव र नेपाल भ्रमण वर्ष २०२०को सफलताको कामना पनि उनले गरे । राष्ट्रपति भण्डारीले प्रत्युत्तर मन्तव्यका क्रममा आफूले गौतम बुद्धको जन्मभूमिबाट न्यानो माया र शुभकामना लिएर आएको बताउँदै बुद्धका सन्देशले मानिसको जीवन पद्धतिलाई नै मार्गनिर्देशन गरेको स्पष्ट पारे ।

बौद्धदर्शनको उद्गमस्थल लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्त (म्यान्मा) को योगदानको प्रशंसा गर्दै उनले लुम्बिनीप्रति म्यान्माको सहयोग र सद्भाव रहने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गरे । राष्ट्रपति भण्डारीले दुई देशका विकासका आकाङ्क्षा र चुनौती समान रहेकाले दुई देशबीच सहयोग आदानप्रदान हुनुपर्नेमा जोड दिएकी छिन् ।

उनले व्यापार, पर्यटन, लगानी र संस्कृतिका क्षेत्रमा सहकार्य गरेमा महत्वपूर्ण उपलब्धि हाँसिल हुने विश्वास व्यक्त गर्दै बिम्स्टेकमा अझ बढी सहकार्य गर्न सकिने बताइन् । उनले जलवायु परिवर्तनमा अनुकूलन प्राप्त गर्न दुवै देशले काम गर्नुपर्ने बताउँदै सन् २०२० अप्रिलमा नेपालमा हुने सगरमाथा संवादमा म्यान्माबाट उच्चस्तरीय सहभागिताको आशा व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यान्मालीको योगदानप्रति प्रशंसा गर्दै तिनको संरक्षण गरेकामा म्यान्मा सरकारप्रति कृतज्ञता व्यक्त गरिन् ।
सो अवसरमा दुवै राष्ट्रपतिबीच उपहार आदानप्रदान गरिनाका साथै सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो । दुवै राष्ट्रपतिले प्रदर्शनमा सहभागीलाई फूलको माला दिएर सम्मान गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *