म्याग्दीमा ४३ प्रतिशत निजी आवास पुनःनिर्माण
म्याग्दी । यहाँ त्रिचालिस प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गरेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेका मध्ये हालसम्म ३४६ ले आवास पुनःनिर्माण गरेका छन्।
प्राधिकरणको जिल्ला आयोजना कार्यान्वय एकाइका अधिकृत यज्ञप्रसाद रिजालका अनुसार ८०३ लाभग्राहीले रु ५० हजारका दरले पहिलो किस्ता अनुदान लगेका थिए भने ३९६ ले दोस्रो किस्ता लगेका छन् । पहिलो किस्ता लगेका मध्ये दुईले अनुदान फिर्ता गरेका छन् भने ३७२ दोस्रो किस्ता लिन आएका छैनन्।
भूकम्पबाट कम प्रभावित जिल्लाको सूचीमा पर्ने म्याग्दीमा विसं २०७३ चैतदेखि सम्झौता र २०७४ मङ्सिरदेखि पीडितको खातामा अनुदान पठाएर निजी आवास पुनःनिर्माण शुरु गरिएको थियो। दोस्रो किस्तावापत डिपिसी गरेपछि रु एक लाख ५० हजार र भवन बनाएपछि अन्तिम किस्तावापत रु एक लाख अनुदान उपलब्ध गराउने व्यवस्था छ।
प्राविधिक आउनुअघि बनेका १४८ घरका धनीलाई प्राधिकरणको पछिल्लो निर्णयअनुसार अनुदान उपलब्ध गराइने भएको छ । विसं २०७३ पुसमा इञ्जिनीयर परिचालन गरेर एक हजार ३५० घर सर्वेक्षण गरिए पनि ८४८ लाभग्राही पहिचान गरिएका थिए । छुटको गुनासो दर्ता गराएका ५३३ पीडितको घर गत जेठमा पुनःसर्वेक्षण गरिएको थियो।
विसं २०७६ असार मसान्तसम्म पहिलो किस्ता लिएकाले यही कात्तिकसम्म दोस्रो किस्ता, आगामी माघसम्म तेस्रो र गुनासो सम्बोधनबाट थपिएका लाभग्राहीले २०७७ असारसम्म अन्तिम किस्ता लिइसक्नुपर्ने समयसीमा तोकिएको छ।
भूकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगङ्गा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरी अन्यत्र जग्गा नभएका तीन घरधुरीलाई जग्गा खरीदका लागि थप रु दुई लाख उपलब्ध गराइएको छ। रासस







डिसी नेपाल








Facebook Comment