साहित्य समाजद्वारा आयोजित मुक्तक वाचन कार्यक्रममा झुमे धनगढीका श्रष्टा
धनगढी। सुदूरपश्चिमाञ्चल साहित्य समाजले शनिबार धनगढीमा एक समारोहबीच मुक्तक वाचन कार्यक्रम आयोजना गरेको छ। समाजकी उपाध्यक्ष एवं मुक्त वाचन कार्यक्रमकी संयोजक रुपा स्वारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न श्रष्टाले आफ्ना मुक्तक वाचन गरेका थिए।
कार्यक्रममा समाजका अध्यक्ष रामलाल जोशीले धनगढीमा साहित्यिक गतिविधि बढाउन सबै श्रष्टालाई सक्रियतापूर्ण भूमिका निर्वाह गर्न आग्रह गरे। ‘धनगढी साहित्यको राजधानी हो। साहित्य समाजले यो धर्तिमा ठूला-ठूला साहित्य महोत्सव र कार्यक्रमहरूको आयोजना गरिसकेको छ। त्यसको गरिमालाई बचाइराख्न र थप उचाइ दिन हामी श्रष्टाहरू सधैँ सक्रिय हुनुपर्छ,’ उनले भने।
जोशीले बैशाख २६ गते बसन्त काव्यउत्सव आयोजना गरिने बताए। उक्त कार्यक्रमको संयोजकको जिम्मेवारी समाजका सदस्य तीर्थ भण्डारी ‘गड्सेरी’लाई दिइएको छ। यस्तै समाजले बैशाखमा नै कैलालीको एतिहासिक चुरे क्षेत्रको खैरालामा एक दिने साहित्य उत्सवसमेत गर्ने उनको भनाइ छ। खैराला राणाकालीन एतिहासिक गर्भा दरबार भएको क्षेत्र हो।
कार्यक्रममा प्रमुख अतिथि समाजकी सल्लाहकार श्रेष्ठ प्रिया ‘पत्थर’, विशिष्ट आतिथिमा बरिष्ट साहित्यकार हेमन्ती जोशी, फाल्गुना दाहाललगायत रहेका थिए। कार्यक्रममा समाजका बझाङ शाखा अध्यक्ष पूर्ण मल्ल, बझाङ शाखा सचिव शैलेन्द्र बहादुर सिंह, बाबुराम आचार्य, रमेश विक, लवदेव धामीलगायत थुप्रै श्रष्टाले मुक्तक बाचन गरेका थिए।
सोही समारोहमा समाजका उपाध्यक्ष टोपेन्द्र शाह ‘रसिक’को केक काटेर जन्मदिन पनि मनाइएको थियो। समाजले प्रत्येक महिनाको अन्तिम शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म विविध कार्यक्रम गर्ने गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment