कविता-आशा हराएको दसैं
आमा!
कसरी हेर्नुहुन्छ दसै मनाइरहेको
रातो टीका निधारमा सजाइरकेको
कानभरी जमरा सिउरिरहेको?
तपाईंको मनमा कालो बादल मडारिरहदा
भित्र भित्रै पिर ब्यथा बाष्पिकरण भइ
अश्रुको वर्षा भइरहदा!
वर्षा सँगै आउने बाढीले धैर्यताको बाध भत्काउदा
कसरी सम्हाल्नुहुन्छ तपाइको मन?
बाबा!
अरुका छोराछोरी नया कपडामा ठाटिएर हिड्दा
मेरो मुहार झलझली सम्झिनुहुन्छ होला!
न्यायको लागि भिख मागेर पनि नपाउदा
भित्र भित्रै ज्वाला दन्किन्छ होला।
मलाई डर छ बाबा
कतै त्यही ज्वालाले तपाइलाई नजलाओस्!
तपाइलाई थाहा छैन-
म कहाँ छु- स्वर्ग वा नर्क!
तर मलाई थाहा छ
तपाइहरु कहाँ हुनुहुन्छ भनेर!
तपाईहरु पृथ्वीमा हुनुहुन्छ
तर नर्क जस्तो वातावरण भएको।
तपाईहरुले के माग्नुभएको थियो र-
आफ्नो छोरीको जिउदो शरीर त हैन नि,
घरको खुशी फेरि भर्नका लागि प्राणयुक्त छोरी त हैन नि,
जलाएर खरानी पारिएकी छोरीको सिङ्गो शरीर त हैन नि!
मात्रै अपराधीलाई सजाय।
आँसु पोखिएर देशैभरी सिंचित हुदा पनि
एउटा आशाको बिज भेटिएको छैन
आशाको बिरुवा अंकुरण भएको छैन!
अनि त्यो पृथ्वी हो त आमा?
त्यो नर्क होइन त बाबा??
(निर्मला पन्त प्रती समर्पित)
No ads found for this position

डिसी नेपाल
Facebook Comment