महराको बयान शुरु

डिसी नेपाल
३ कार्तिक २०७६ १३:२५

काठमाडौं। यौन दूव्र्यवहार आरोपमा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको बयान शुरु भएको छ। जिल्ला सरकारी वकली कार्यालयमा प्रहरीले उनको बयान शुरु गरेको हो।

सरकारी वकीलका अगाडि प्रहरीले बयान लिनुपर्ने कानुनी प्रक्रियाअनुसारको बयान शुरु भएको हो। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको कोठामै पुगेर महराले दूव्र्यवहार गरेको आरोप लागेको छ। यही आरोपमा महरा असोज १९ गते पक्राउ परेका थिए। उनले सभामुखबाटसमेत राजीनामा दिनुपरेको थियो।

महराले बलात्कार गरेको भन्दै असोज १२ गते समाचार सार्वजनिक भएको थियो। तर, पीडित रोशनी शाहीले भने बलात्कार प्रयास आरोपमा मुद्दा दायर गरेकी छन्।

१९ गते पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले १३ दिनसम्म थुनामा राख्न अनुमति दिएको थियो। सो म्याद पनि सकिने भएपछि आजै अदालतबाट थुनामा राख्न अनुमति लिने तयारी भइरहेको स्रोतले जनाएको छ।

महराले यसअघि स्वास्थ्यमा समस्या भन्दै बयान दिन मानेका थिएनन्। आइतबार महरा बयान दिन तयार भएपछि प्रहरीले बयान लिन शुरु गरेको हो।

असोज २३ गतेदेखि महरा राजधानीको नर्भिक अस्पतालमा उपचार गराइरहेका छन्। स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई त्यहाँ उपचार गराइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *