‘बहिनी यो तिहारमा भाइ टिका लगाउन आइपुग्छु’

विक्रम वारघरे
(पाल्पा र हाल कोलोराडो अरुरोरा अमेरीका )

‘बहिनी, यो तिहारमा भाइटिका लगाउन आइपुग्छु।’
कश्मिरको पल्टनवाट अन्तिम पटक फोन गर्याे उसले।
‘अनि सुन त बाबा, ममीलाई पनि भन है, म काममै छु। फोन राखेँ ।’
यत्ति बोल्यो उ।

घर जान १० दिन बाँकी रहेछ, मोवाइलमा हाम्रो पात्रो एप्स हेर्दै उसले मनमनै गन्यो। पल्टनमा बिताएको ३ वर्ष पुग्यो। तर, त्यो १० दिन ३ वर्ष भन्दा लामो लाग्यो उसलाई। कश्मिरमा फाट्टफुट्ट लडाइँ भइरहन्थ्यो। कति खेर के हुन्छ निधो हुदैनथ्यो। १० दिन पहिल्यै घर जान सामान प्याक गर्याे उसले। घरको लागि कोसेलि भने वाटोमा किन्ने निधो गर्याे।

हरेक विहान गाउको पुछारमा रहेको घरबाट घरको डाडाँसम्म दौडिदै पुग्नु, सेटअप हान्नु , भिम खिच्नु उसको दैनिकी थियो। डाँडाको टुप्पोमा पुगेछपछि डाँडाको पुछारमा रहेको आफ्नो घर हेर्दै मनमनै भन्थ्यो–हेर घर, एकदिन तैलैै सधैंको लागि ओेत पाउनेछस् । पानी पर्दा सधैं भिजिरहने त, अब ओभाानो बस्न धेरै दिन छैन। एकदिन खरको छानोलाई धन्यवाद दिनेछु अनि सधैको लागि बिदा गर्नेछु। छानोको सातो टिन टल्किनेछ।’

हातमा नोकिया १०४ मोडलकोे आमाको मोवाइल। मोवाइलमा एयरफोन जोडेर रेडियोको आवाजसँगै दौडिन्थ्यो उ। खुट्टामा कालो राइनो चप्पलले साथ दिन्थ्यो उसलाई। उमेर १२ , कक्षा ७ उमेरसँगै पढाइका कक्षाहरु पनि चढ्दै थियो, त्योसँगै सपनाहरुले पनि आकार लिँदै थिए। लाहुरेमा देखिन साढे सत्र पुग्न पर्छरे, एसएलसी पास, हाइट ५ फिट पाँच इन्च उसले त्यति बेला सुनेको थियो। एसएलसी दिन ३ वर्ष लाहुरेमा देखिन अझै साढे ५ वर्ष रहेछ उसले हिसाब गरिरहन्थ्यो।

लाहुरे बन्ने रहर उ माथि पलाउनु छिमेकी लाहुरे काका प्रेरणाका श्रोत हुन्। २ तलाको चिटिक्क परेको घर छ उनको। घर छिर्ने मुल ढोका माथि खुकुरीहरु आपसमा अङगालो हालेर बसेका छन्। छिमेकी काकाको घरमा मिठो मसिनो पाकिरहँदा उसको घर पनि वासनाले जिस्काइरहन्छ। उ मतलव विकलको घरमा। बास्नासँगै केही मिनेट पछि छिमेकी काकी कचौरामा केही न केही आफूले पकाएको कुरा लिएर विकलको घर आउँथिन्।

दशै, तिहार जस्ता चाडपर्वमा मिलाएर लाहुरे काका छुट्टी आउँथे। आफू आउन नपाउदा साथीहरुसँग केही न केही कोसेलीहरु पठाइदिन्थे।
‘यो मेरो लाहुरे हुँदाको पहिलो फोटो, यो ट्रेनिङ सक्दाको, यो कसम खाँदाको, यो पल्टनमा फुटवल भन्थ्यो हामी फस्ट हुँदाको, घर भित्रको भित्तामा सजिएर बसेका फोटोहरु देखाउँदै उनले फोटोको वर्णन गर्थे। विकल सुनिरहन्थ्यो। दशैंमा टीका लगाउँदा ‘छिमेकी लाहुरे काका जस्तै ठूलो मान्छे बन्नु’ भनेर आशीर्वाद पाउथ्यो उसले। गाउँमा लाहुरे काकाको छुट्टै नाम थियो।

दिनहरु बित्दै गए। एसएलसी सकेर प्लस टु को लागि सदरमुकाम पस्यो विकल। लाहुरे हुने सपना उमाथि झन हाबी हुँदै गयो। मगर समुदायमा जन्मिएर होला उ माथि लाहुरे बन्ने आशिषहरु पाउथ्यो । सायद ब्राम्हण वा क्षेत्री समाजमा जन्मेको भए लोकसेवा पास गर्नु , सरकारी जागिर खानु या यस्तै केही आशिषहरु पाउथ्यो होला।
‘तँ त ब्रिटिसे लाहुरे हुन लायक छस् , हाईट नि पुग्छ , ज्यान नि छ , पढाइ नि राम्रैै छ।’ यस्तै भन्थे गाउँमा।

एसएलसी पछि विकलले आफ्नो लागि छुट्टै फोन पायो, स्यामसुन ग्यालक्सी जे २। बाबाले सदरमुकामबाट ल्याएदिनु भएको।
‘गाँउमा सोझो थियो, घरमा ऋणको बोझ थियोे, हिड्यो केटो लाहुरे देखाउन …….’ आशिष राना (लाहुरेको) गित बजाउदै सदरमुकामको फुटवल मैदानमा खुप दौडिन्थ्योे उ। घरदेखि गाउँको डाँडामा पुग्ने उसको पाइलाहरु सदरमुकामको मैदानमा समेत कुद्न थाले।

१२ को परीक्षा सकियो। उमेर पनि १७.५ पुग्यो। हातमा नागरिकता, एसएलसी. सर्टिफिकेट , १÷२ दिनलाई चाहिने कपडा साथमा सपनाहरु बोक्दै साथीहरुको एउटा हुलसँग भरतपुर पुग्यो उ। तेस्रो दिन पाल्पाको पालो थियो। पालोसँगै उ पनि लाइनमा बस्यो। विहान ६ वजेदेखि दौडाउने भन्ने खबर आयो। ३ वजे नै उठेर लाइन बस्न गए उनीहरु। दौडाउने ठाउँमा पुग्दा करिब ३० उ जस्तै सपनाहरु वोकेर आउनेहरु लाइनमा बस्न पुगेछन्।

तेस्रोे दिनको पहिलो ग्रुपमै दौडिने पालोमा पर्याे उ। भर्तीको लागि आएका गल्लाहरुले गाली गर्थे, केही त सुनै नसक्ने शब्द पनि बोल्थे। कतिको हाइट पुगेन् त कतिको उमेरले साथ दिएन। विकललको भने रनिङमा पूर्ण विराम लाग्यो भरतपुरको लागि। दौडिन नस्कनेहरुलाई गल्लाले तान्थे। दौडीँदै गर्नेहरुलाई अझै तान अझै तान भन्दै जोसाउँथे । रनिङमा सेलेक्ट हुनेहरुलाई ढाडमा स्यावास दिँदै समातेर भित्र लग्थे।

पहिलो पटक लाहुरे हुने सपना पूर्णविराम लागेपछि घर फर्कियो उ। सपनामा पुरै पूर्णविराम लागेकोे हैन, भरतपुरबाट धेरै कुरा सिकेको हो उसले। ६ महिनापछि वुटवल खुल्छ त्यसमा राम्रो तयारी गर्न पर्छ है केटा हो । यस्तै यस्तै भन्थे साथीहरु।

६ महिनापछि बुटवल भर्ती खुल्यो । भरतपुर जस्तै सबेैै कुरा भए। यसपटक भने रनिङ कटायो उसले। गाउँभरि हल्ला भयो। फिजिकल, लिखित, मेडिकल गर्दै रिजल्ट पनि आइपुग्यो। वुटवल भर्तीबाट छानिनेमा उसको नाम पनि समावेश भयोे। मतलव उसको सपना पूरा भयो।
बधाई विकल !

लाहुरे जीवन सुखमय रहोस् विकल। अनि पार्टी कहिले?’

फेसबुकका पोस्ट, म्यासेन्जरमा आएका म्यासेजहरु, उसको नम्वरमा आएका फोनहरुमा बधाई , शुभकमनासहित पार्टी कहिले त? भन्ने वाक्य धेरै साथीहरुले छुटाएनन्। रिजल्ट आएको एक महिनापछि हाजिर हुने मिति दिइयो त्यस भित्र उसले आफूलाई चाहिने कागज पत्रहरु तयार गर्याे।

बिस्तारै ट्रेनिङहरु सुरु भए। ६ महिना मोवाइल लिन नपाउने। घरको झलझल्ती सम्झना आयो उसलाई। कहिलेकाही त सुन्नै नसकिने शव्दहरु प्रयोग गरेर गाली गर्थे। ट्रेनिङ सकियो । ट्रेनिङसँगै कसम खाने दिन पनि आयो। घरबाट बाबा आमा र बहिनी उसको पल्टनमा आइपुगे। छोरालाई देखेर परिवारको आखामा आँसु आयो। खुशीका आशुहरुसँगै खुशीका पलहरु मोवाइलमा कैद भए। पल्टन लाग्यो उ। बिस्तारै पल्टनका दिनहरु चल्दै थिए। पल्टन लागेको एक वर्षपछि छुट्टी आयो उ। मङसिरको पहिलो हप्ता ४० दिनको छुट्टी।

‘के हो विकल, विहे गर्ने गरी नै आइस क्या हो?’
गाउँमा पहिलोे छुट्टीको पाइला टेक्दैै गर्दा उ माथि प्रश्न तेर्सियो। बस उ हाँस्यो मात्र। गाउकै मन्दिरमा गरेको भाकल पूरा गरेसी उसले भाकलमा भने जस्तै पूजा गर्याे।
घरमा बिस्तारै खुशीका किरणहरु पर्दै थियो। घरमा ऋणहरु कम हुदै थिए। विकलको सपनाले आकार लिँदै थियो । २ वर्षपछि उसको पल्टन कश्मिरमा सर्याे। १ वर्ष कश्मिरमा बिताउनु पर्ने भयो।

‘कश्मिरमा हो गाह्रो हुने हेर विकल’
सानोमा यस्तै काहानीहरु सुनाउथे लाहुरे काकाले। आफ्नै आखाबाट गोलि गएर पल्टनको साथी मारिएको काहानी सुनाउथे । म यति र उति जनालाई मारे भन्दै काहानीमा थप्थे लाहुरे काका।
………..

बहिनीसँगको फोन राखेपछि ड्यूटीमा खटियो उ। खुट्टामा कालो बुुुट । शरीरमा बर्दी । टाउको टोपी हातमा बन्दुक। वन्दुकसँगै भोला। झोला भित्र बन्दुकका गोलीहरु। साथमा खकुरी । ड्यूटीमा खटिँदै गर्दा उनीहरुको पल्टनमा हमाल भयो। दोहोरो भिडन्त चल्यो। भिडन्टमा विकललाई गोली लाग्यो। साथीहरु फाइरिङमा व्यस्ट थिए।

विकलको मुटु छिटो छिटो धड्किन थाल्यो। उसको शरीर रक्ताम्य भयो। युद्धको मरुभूमिमा उसको रगतको खोला बग्यो। अलिकति खुल्न थालेका सपनाहरु विस्तारै आखामा खुम्चिन थाले। उसको दिमागमा अतितका कुराहरु आइपुुुुगे। अन्तिम पटक घर सम्झियो, परिवार सम्झियो उसलाई माया गर्ने छिमेकी लाहुरे काकालाई सम्झियो। लाहुरेनी काकीलाई सम्झियो। लाहुरे काकाको जस्तै ठूलो घर बनाउने आफ्नो सपनालाई सम्झियो। गाउँकै मन्दिरमा पूजा गरेको सम्झियो। भगवानलाई अन्तिम पटक सम्झियो ‘भगवान तपाईँसँग लाहुरे हुने सपना पूरा होस् भनेर भाकल गरे तर लडाईमा मेरो रक्षा गर्नुस भनेर भाकल गर्न बिर्सिएछु।’
लडाईको भोलिपल्ट भारतिय मिडियामा समाचार आयो।

‘कशमिर मे लडाईमे एक नेपाली जवान सहिद हो गया।’

यो खबर एक कान दुई कान हुँदै विकलको घरमा आईपुग्यो । घरमा रुवावासि चल्यो तर घरको ढोका अगाडि बर्दीमा सजिएको विकल भने मुस्कुराई रहेको थियो । २ वर्ष अघि मात्र रिटाएर भएर घर बसेका लाहुरे काकाले आँसु रोक्न सकेनन्। सानोदेखि ठूला मिडियाले समाचार लेखे ‘कश्मिरमा लडाई परी एक नेपाली सहिद भए।’ पल्टनमा शोकको धुनसँगै उसको शरीरमाथि सलामी दिइयो।

३ वर्ष अघि बधाई दिएकाहरुले संवेदना दिए, दिनुपर्ने भयो। छोरा तिहारको मुखैमा घर आइपुग्यो अब कहिल्यैै पल्टन नफर्किने गरी। आगनमा फुलेका फूलहरु लगाइदिन बहिनीलाई भाइ टिका कुर्न परेन। भाइ टिकाको ५ दिन पहिल्यै नै माला लगाइ दिइ उसले । दाजुबाट दक्षिणा लिनुको साटो उ आफै दाजुलाई दक्षिणा चढाई दिई। विकल भनेको भित्तामा हाँसीरह्यो , हाँसीरहनेछ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position