भाइको उपचारको लागि दिदीको कठोर त्याग, ५ वर्षसम्म भात र खुर्सानीको भरमा गुजारा

डिसी नेपाल
१६ कार्तिक २०७६ १०:४८

एजेन्सी। चीनको गुइयांग शहरकी वू हुयानले आफ्ना भाइको उपचारका लागि पैसा जोगाउनको लागि विगत ५ वर्षदेखि दैनिक २ युआन (नेपाली ३२ रुपैयाँ)मा गुजारा गरिरहेकी थिइन् । उनी भात र खुर्सानी किन्थिन् । धेरैजसो उनी यही खान्थिन् ।

लामो समयसम्म पर्याप्त पोषण नभएका कारण वूलाई यही महिनाको सुरुवातमा सास लिन समस्या तथा छातीमा पीडा हुने समस्या देखिएपछि अस्पतालमा भर्ना गरियो । डाक्टरका अनुसार २४ वर्षकी वूलाई मुटु र मृगौलामा समस्या छ । बीबीसीको समाचार अनुसार ४ फिट ५ इन्चकी वूले पैसा बचाउनको लागि यतिसम्म कम खाइन् कि उनको तौल २० किलो मात्र बाँकी थियो ।

अपतालमा उनी बिरामी हुनुको कारण थाहा खुलेपछि उनको कहानी यो हप्ता अन्तर्राष्ट्रिय मिडियामा चर्चाको विषय बनेको छ । त्यसपछि कैयौं मानिसहरु सहयोगको लागि अगाडि आए । मानिसहरुले वू र उनका भाइको उपचारको लागि लाखौं युआन दान दिए । वूको लागि अहिलेसम्म ८ लाख युआन (१ करोड २८ लाख ७१ हजार नेपाली रुपैयाँ)भन्दा बढी रकम जम्मा भइसकेको छ ।

खासमा मानसिक रुपले कमजोर आफ्ना भाइको उपचार र उनको पढाइको लागि वू पैसा बचाउने प्रयास गरिरहेकी थिइन् । वूले ४ वर्षको उमेरमा आफ्नी आमा गुमाएकी थिइन् भने स्कुले जीवनमा पितालाई पनि गुमाएकी थिइन् । त्यसपछि उनकी हजुरआमाले उनीहरुलाई पालेकी थिइन् । हजुरआमाको पनि मृत्यु भएपछि वूका अंकल आन्टीले उनीहरुलाई खर्चको लागि हर महिना ३०० युआन (४ हजार ५ सय नेपाली रुपैयाँ) मात्र दिन्थे । यो ३०० युआनको अधिकांश हिस्सा भाइको उपचारमै खर्च हुन्थ्यो । खानपिन र अन्य जरुरी चीजहरु किन्नको लागि मुस्किलले थोरै पैसा बच्थ्यो । उनीहरुले यसैमा गुजारा गर्नु पर्थ्यो ।

सामाजिक संजालमा कैयौं मानिसहरुले आफूहरुले वुलाई सहयोग गर्न चाहेको बताएका छन् । केही मानिसहरुले कलेज प्रबन्धनले उनलाई सहयोग नगरेको कुरा पनि गरे । एक प्रयोगकर्ताले लेखे ‘यो स्थिति अफगानिस्तानमा शरणार्थीहरुको भन्दा पनि दयनीय हो ।’ एक अन्यले लेखे ‘चीनले ७० औं स्थापना दिवमा धेरै खर्च गर्यो । यो पैसाको राम्रो प्रयोग हुन सक्थ्यो ।’

सामाजिक संजालमा क्राउड फंडिङ प्लेटफार्मको अपिलपछि वूका शिक्षक र कलेजका साथीहरुले ४० हजार युआन तथा उनको गाउँका मानिसहरुले ३० हजार युआन दान दिए । मिडिया रिपोर्टमा अधिकारिहरुले भने ‘मिस वूलाई सरकारको तर्फबाट प्रत्येक महिना ३०० युआनदेखि ७०० युआनको सक्सिडी प्राप्त थियो । अब उनलाई २० हजार युआनको आपतकालीन सहयोग पनि दिइनेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *