विमानस्थल स्तरोन्नतिको गुरुयोजना अलपत्र

डिसी नेपाल
२४ मंसिर २०७६ ९:३७

बाँके। सरकारले स्तरोन्नतिका लागि नेपालगञ्ज विमानस्थलको गुरुयोजना बनाएको वर्षौँ बितिसकेको छ। तर, योजनाअनुसार अहिलेसम्म कुनै काम हुनसकेको छैन। विमानस्थलमा स–साना काम नहुँदा जहाज अवतरणस्थल (रनवे)मा बेलाबखतमा समस्या आउने गरेको छ। रनवे चारैतिर घाँसले भरिएको छ।

जङ्गल नजिकै भएकाले विमानस्थलको झाडीमा बँदेल, बाँदरजस्ता वन्यजन्तु बस्ने गरेकाले जहाज उडान र अवतरणका समयमा चुनौती अझ थपिएको छ। निर्माणको जिम्मेवारी लिएको पप्पु कन्स्ट्रक्शनले रनवेमा ग्रेडिङको काम पूरा नगर्दा समस्या भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमानस्थल घाँसेमैदानमा समेत परिणत भएको छ।

बँदेल आतङ्कले विमानस्थलमा दुर्घटनाको जोखिम पनि उस्तै बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रेमनाथ ठाकुर बताए। उनका अनुसार गत मङ्गलबार साँझ बुद्ध एयरलाइन्सको जहाज अवतरण हुने क्रममा बँदेलसँग ठोक्किएको थियो। तर, मानवीय क्षति भने भएन। बँदेलको बच्चाले भने ज्यान गुमाएको थियो।

धावनमार्गमै वन्यजन्तु आउँदा समस्या निम्तिएको बुद्ध एयरलाइन्सका स्टेशन म्यानेजर विनित शाह बताउँछन्। उनले भने, “विमानस्थलमा धेरै घाँसेमैदान छ, बेलाबखतमा सफा गरिए पनि सरसफाइ कार्यक्रम नियमित नहुँदा समस्या उस्तै हुने गर्छ, त्यसका कारण विमान उडान र अवतरणका क्रममा वन्यजन्तु रनवेमै आउँदा चुनौती छ।” पप्पुले विमानस्थलको ‘ओभरले’ (एकपटक बनाएको रनवेमाथि पुनः लेयर लगाउने काम) पूरा गरेको छ। तर, उसले गर्नुपर्ने मार्किङ, नाली, ग्रेडिङ (माटो सम्याउने काम) अलपत्र छाडेको छ। काम पूरा गर्न पटक–पटक पत्राचार गरे पनि अटेरी गरिरहेको प्राधिकरणले जनाएको छ।

एक वर्षअघि सम्पन्न भइसक्नुपर्ने ठेक्का अहिलेसम्म अधुरै रहेको नागरिक उड्डयन प्राधिकरण प्रमुख ठाकुरले बताए। धावनमार्ग पक्की गर्ने, मार्किङ गर्ने, झाडी फालेर ग्रेडिङ गर्ने (सम्याउने) कार्यको ठेक्का पप्पु कन्स्ट्रक्शनले रु १३ करोडमा ठेक्का लिएको प्राधिकरण प्रमुख ठाकुरले बताए। ठेक्कामध्येको रु ११ करोड ३३ लाख भुक्तानी भइसकेको छ। काम भने अझै अपुरै रहेको छ। ठेकेदारले अटेर गरेपछि प्राधिकरणले पप्पुलाई आवश्यक कारवाहीका लागि सिफारिश गरेको उनको भनाइ छ।

वन्यजन्तुबाट बचाउन विमानस्थलको वरिपरि काँडेतार गरिएको छ। “सुरक्षाका लागि पर्याप्त छैन, रनवेको घाँस नफाल्दासम्म जनावरले सताइरहन्छ”, प्राधिकरण प्रमुख ठाकुरले भने, “ठेकेदार कम्पनीलाई यसअघि बारम्बार काम सक्न आग्रह गर्दा पनि सुनुवाइ गरेन, यसले उडान र अवतरण संवेदनशील बन्दै गएको छ।”

पप्पुले जिम्मेवारीले लिएकामध्ये अधिकांश काम अधुरै छन्। तोकिएको समयमा आफ्नो जिम्मेवारी बहन गर्न नसकेपछि निर्माण कम्पनी पप्पु कन्ट्रक्सनलाई कारवाहीका लागि प्रक्रिया अघि बढाइएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए। उनका अनुसार धरौटीमा राखिएको रकम जफत गर्ने प्रक्रिया शुरु भएको छ।

विमानस्थलको आन्तरिक पूर्वाधार निर्माणका लागि रु १२ अर्ब लगानी भइरहेको उनले बताए। गुरूयोजनाअनुसार विमानस्थललाई पूर्ण बनाउन अझै १२६ बिघा जमीन अतिक्रमण गर्नुपर्ने देखिएको उनी बताउँछन्। अहिले छ ठूला जहाज अटाउने पार्किङ–वे निर्माण भइरहेको छ । हाल दुईमात्रै ‘एटीआर ७२’ ठूला जहाज पार्किङ गर्न सकिन्छ।

प्रमुख ठाकुरले भने, “अब छ जहाज थप गरी पार्किङ–वे निर्माणपछि आठ ठूला जहाज ल्यान्ड गर्न सहज हुनेछ, २०० मिटरको रनवे रहेको नेपालगञ्ज विमानस्थलमा गुरुयोजनाअनुरुप पश्चिमतर्फ थपेर विमानस्थलको रनवेलाई दुई हजार ६०० मिटरसम्म बढाउने तयारी भइरहेको छ।” विमानस्थलको पार्किङ क्षेत्रमा मात्र रु २८ करोड लगानी हुँदैछ । नयाँ टर्मिनल बनाउँदा पश्चिमतर्फको डुडुवाखोला नै अर्कोतर्फ मोड्नुपर्ने अवस्था आउने प्राधिकरण प्रमुख ठाकुरले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *