काभ्रेमा बर्डफ्लुको प्रकोप: ४० हजारभन्दा बढी हाँस-कुखुरा नष्ट

डिसी नेपाल
१६ असार २०८३ ८:४६

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लामा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ। जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार केही हप्तायता व्यावसायिक रूपमा पालिएका पक्षीहरू धमाधम मर्न थालेपछि सो कदम चालिएको हो।

बनेपा नगरपालिकाको वडा नं ६ र १३ तथा पनौती नगरपालिकाको वडा नं ७, ८ र ९ का पोल्ट्री फार्महरूमा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको छ। वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार सङ्क्रमित पक्षीहरूलाई खोला, झाडी वा अन्य खुला स्थानमा जथाभावी फाल्ने गरिएको पाइएको छ। यसरी फालिएका कुखुरा वा हाँसलाई काग तथा अन्य जङ्गली चराहरूले खाँदा सङ्क्रमण थप फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हाल सङ्क्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन र ओसारपसारमा कडाइ गरिएको छ।

प्रयोगशालाबाट परीक्षणको नतिजा ढिलो आउँदा स्थानीय तहले समयमै प्रभावकारी कदम चाल्न कठिनाइ भइरहेको छ। साथै, नाला, रोशी र खावा चेकपोस्टमा अवैध ओसारपसार नियन्त्रण गर्न निगरानी बढाइएको छ।

डा. ठाकुरले व्यावसायिक पोल्ट्री फार्महरूमा ‘बायोसेक्युरिटी’ अर्थात् जैविक सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्न आग्रह गगरे। उनका अनुसार खोरमा अनावश्यक व्यक्तिको प्रवेश निषेध गर्ने, अनिवार्य सुरक्षात्मक उपाय अपनाएर मात्र खोरमा प्रवेश गर्ने, खोर र प्रयोग हुने उपकरणहरू नियमित सफा राख्ने तथा कुखुरा ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्नुपर्ने हुन्छ। उल्लेखनीय छ कि, गत चैत महिनामै सिन्धुपाल्चोक र काभ्रेमा बर्डफ्लुको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउने निर्णय गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *