इजरायलमा नेतान्याहुलाई सत्ताबाट हटाउन विपक्षी दलहरूको शक्तिशाली मोर्चा

डिसी नेपाल
१० कार्तिक २०८३ १०:२०

जेरुसेलम। इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सत्ताबाट पच्याउने लक्ष्यका साथ केन्द्र-दक्षिणपन्थीदेखि वामपन्थीसम्मका विपक्षी दलहरू एकजुट भएका छन्।

‘चेन्ज ब्लक’ मा आबद्ध दलहरूले नेतान्याहु र उनका अतिदक्षिणपन्थी सहयोगीहरूलाई पराजित गर्न बलियो गठबन्धन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यस मोर्चामा अरब पार्टीले पनि सहभागी हुने इच्छा देखाएको छ, यद्यपि अन्य दलहरूले यसबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्।

यस नेतान्याहुविरोधी मोर्चामा पूर्वसेना प्रमुख गदी आइसेनकोट, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट, यायर लापिड, एभिग्डोर लिबरम्यान, यायर गोलन र अरब पार्टीका नेता मन्सुर अब्बास मुख्य व्यक्तित्वका रूपमा अगाडि आएका छन्।

६६ वर्षीय पूर्वसेना प्रमुख गदी आइसेनकोटले गाजा युद्धका क्रममा आफ्ना छोरा र दुई भतिजा गुमाएपछि सर्वसाधारणबाट ठूलो सहानुभूति प्राप्त गरेका छन्। प्यालेस्टिनी राज्य स्थापनाको विरोध गर्दै गाजामा हमासको शासन अन्त्य हुनुपर्ने धारणा राख्दै आएका उनले सन् २०२४ मा नेतान्याहुको युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिएका थिए। त्यसपछि उनले आफ्नै ‘याशर’ पार्टी स्थापना गरेका हुन्।

त्यस्तै, ५४ वर्षीय पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले सन् २०२१ मा अरब पार्टीको समर्थन लिएर विविध दलहरूको गठबन्धनमार्फत नेतान्याहुको लगातार १२ वर्ष लामो शासन अन्त्य गरेका थिए।

यद्यपि उनको सरकार एक वर्षमै ढलेको थियो। हाल दक्षिणपन्थी मतदाताहरूलाई आकर्षित गर्ने प्रयासमा रहेका उनले नेतान्याहुलाई समेत विपक्षी गठबन्धनको सरकारमा समावेश गर्न सकिने संकेत गरेका छन्।

मध्यमार्गी ‘येश अटिड’ पार्टीका नेता ६२ वर्षीय यायर लापिड पूर्वपत्रकार तथा पूर्वप्रधानमन्त्री हुन्। अर्थ र विदेशमन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनी नेतान्याहुका कडा आलोचक मानिन्छन्। तर, उनलाई आफ्नो परम्परागत सहरी तथा धर्मनिरपेक्ष जनाधारभन्दा बाहिर समर्थन विस्तार गर्नुपर्ने चुनौती रहेको छ।

कुनै समय नेतान्याहुका निकट सहयोगी रहेका धर्मनिरपेक्ष राष्ट्रवादी नेता एभिग्डोर लिबरम्यानले अहिले प्रधानमन्त्रीको सुरक्षा नीतिको खरो आलोचना गर्दै आएका छन्। उनले यसअघि विदेश, रक्षा र अर्थ मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन्।

यता यायर गोलन नेतृत्वको ‘द डेमोक्रेट्स’ पार्टीले परम्परागत वामपन्थी धारको प्रतिनिधित्व गर्छ। गोलनले प्यालेस्टिनीहरूसँग ‘दुई राज्य समाधान’ को समर्थन गर्नुका साथै समलिङ्गी विवाहलाई मान्यता दिनुपर्ने र यहुदी विश्रामदिनमा सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने धारणा अघि सारेका छन्।

इजरायलको कूल जनसङ्ख्यामा करिब २० प्रतिशत हिस्सा रहेको अरब समुदायको प्रतिनिधित्व नेता मन्सुर अब्बासले गरिरहेका छन्। उनको पार्टी सन् २०२१ मा बेनेट नेतृत्वको सरकारमा सहभागी भई इतिहासमै पहिलोपटक सरकारमा जाने अरब पार्टी बनेको थियो।

विपक्षी गठबन्धनका लागि निर्णायक मानिएका अब्बाससँग सहकार्य गर्ने विपक्षी नेताहरूको नेतान्याहुले आलोचना गर्दै आएका छन्। आफ्नो जनाधार र समर्थन थप विस्तार गर्न अब्बासले इजरायली यहुदी तथा पूर्वप्रहरी अधिकारी योव सेगालोभिट्जलाई समेत आफ्नो पार्टीबाट उम्मेदवार बनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *