‘युवा वर्तमान परिवर्तनका संवाहक हुन्’ : विद्वान गुरुङ

डिसी नेपाल
१० कार्तिक २०८३ १०:४८

काठमाडाैं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले युवाहरूको सक्रिय सहभागिताबाट मात्रै लोकतन्त्रलाई सुदृढ र राष्ट्र निर्माणको अभियानलाई प्रभावकारी बनाउन सकिने बताएका छन्। नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण तरुण युवाहरूलाई शुभकामना दिँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

स्थापना दिवसका अवसरमा जारी शुभकामना सन्देशमा गुरुङले नेपाल तरुण दल नागरिक स्वतन्त्रता, सामाजिक न्याय र राष्ट्रिय परिवर्तनका विभिन्न ऐतिहासिक चरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको गौरवशाली संगठन भएको उल्लेख गरे। लोकतान्त्रिक मूल्य–मान्यता र आदर्शप्रति प्रतिबद्ध रहँदै अन्याय, विभेद तथा निरङ्कुशताविरुद्ध आवाज उठाउनु तरुण दलको मुख्य पहिचान रहेको र आज पनि यसले युवाहरूको आशा, भरोसा तथा ऊर्जाको प्रतिनिधित्व गरिरहेको उनले बताए।

“आजको तरुण पुस्ता भविष्यको कर्णधार मात्र नभई वर्तमान परिवर्तनको संवाहक पनि हो,” गुरुङले भने। सुशासन, पारदर्शिता, रोजगारी, गुणस्तरीय शिक्षा, सामाजिक न्याय र अवसरको समानता सुनिश्चित गर्न युवा वर्गको भूमिका अपरिहार्य रहेको उनको भनाइ छ। राजनीतिलाई पद प्राप्तिको माध्यम मात्र नबनाई समाजलाई सकारात्मक दिशामा अघि बढाउने र राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्ने अभियानका रूपमा बुझ्नुपर्नेमा उनले जोड दिए।

राजनीतिमा विचारको स्पष्टता, व्यवहारमा इमानदारी, नेतृत्वमा उत्तरदायित्व र संगठनमा लोकतान्त्रिक संस्कार आवश्यक रहेको औँल्याउँदै गुरुङले अग्रजहरूको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्ताको भावना, आकाङ्क्षा र क्षमतालाई नेतृत्वमा स्थापित गर्नुपर्ने बताए। गाउँदेखि सहरसम्म तथा देशदेखि विदेशमा रहेका नेपाली युवाहरूलाई लोकतान्त्रिक उद्देश्यमा जोडेर समुन्नत र समावेशी नेपाल निर्माणमा परिचालन गर्नुपर्ने धारणा उनले राखे।

तरुण दलसँगको आफ्नो सम्बन्धलाई राजनीतिक जीवन, संघर्ष र सिकाइको गौरवपूर्ण यात्राका रूपमा स्मरण गर्दै गुरुङले संगठनलाई समयानुकूल, गतिशील र युवामैत्री बनाउनु सबैको साझा दायित्व भएको बताए।

उनले स्थापना दिवसले संगठनभित्र नयाँ ऊर्जा, आपसी एकता, सहकार्य र लोकतान्त्रिक प्रतिबद्धताको भावना सुदृढ बनाउने विश्वास व्यक्त गर्दै युवा सामर्थ्यलाई राष्ट्र निर्माणमा उपयोग गर्न सबैमा आह्वानसमेत गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *