राष्ट्रिय सभाको भोटेकोशी एवम् कालीगण्डकी विपद अध्ययन विशेष समितिको बैठक बस्दै

डिसी नेपाल
१० कार्तिक २०८३ ७:४६

काठमाडौं। आज राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दैछ।

विशेष समितिको सभापतिमा काँग्रेस सांसद कृष्णप्रसाद पौडेल निर्वाचित भएपछि पहिलो पटक बैठक बस्न लागेको हो। बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने बताइएको छ।

प्रतिनिधि सभाले अलग्गै विशेष समिति बनाएपछि असोज १५ गते राष्ट्रिय सभाले पनि भोटेकोशी बाढीको अध्ययन गर्न विशेष समिति बनाएको थियो।

नौ सदस्यीय समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पुजा चौधरी र तुलप्रसाद विश्वकर्मालगायतका सांसद रहेका छन्।

समितिलाई पुस मसान्तसम्मको समय दिइएको छ भने प्रतिनिधिसभाले बनाएको विशेष समितिसँग आवश्यक समन्वयन गर्न सक्ने भनिएको छ।

समितिलाई विपद्‍मा जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेहरूको उपचार, शव व्यवस्थापन, पुनर्स्थापना लगायतको अध्ययन, समीक्षा गर्ने कार्यादेश तोकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *