हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै, आज राति देशभर नै आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधबार र बिहीबार भने मौसममा बदली भई कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ भने लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा समेत भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment