एन्थ्रोपिकले आईपीओ ल्याउदै

डिसी नेपाल
१० कार्तिक २०८३ ८:०८

काठमाडौं। कृत्रिम बुद्धिमत्तासम्बन्धी अमेरिकी कम्पनी एन्थ्रोपिकले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीले अमेरिकाको धितोपत्र तथा विनिमय आयोग (एसईसी) मा दर्ता फाराम बुझाएको छ। एन्थ्रोपिकले आफ्नो ‘क्लास ए’ साधारण सेयरलाई नास्ड्याक ग्लोबल सिलेक्ट मार्केटमा ‘एएनटी’ सङ्केतअन्तर्गत सूचीकृत गर्न चाहेको छ।

कम्पनीले आईपीओमा कति सेयर बिक्री गर्ने र प्रतिकित्ता मूल्य कति निर्धारण गर्ने भन्ने खुलाएको छैन। निष्कासनमा कम्पनीले नयाँ सेयर जारी गर्नुका साथै विद्यमान सेयरधनीले पनि आफ्नो स्वामित्वका केही सेयर बिक्री गर्नेछन्। तर, विद्यमान सेयरधनीले बिक्री गरेको सेयरबाट प्राप्त रकममा कम्पनीको अधिकार हुने छैन।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको पहिलो छ महिनामा १६ अर्ब ३० करोड अमेरिकी डलर आम्दानी गरेको छ। तर, सोही अवधिमा कम्पनीले ८० अर्ब ७० करोड अमेरिकी डलर खुद घाटा बेहोरेको विवरणमा उल्लेख छ। कम्पनीले भविष्यमा नाफा कमाउन वा नाफालाई निरन्तरता दिन नसक्ने जोखिमसमेत औँल्याएको छ। कृत्रिम बुद्धिमत्ताको पूर्वाधार निर्माण र व्यवसाय विस्तारमा ठूलो लगानी गर्नुपर्ने भएकाले वित्तीय जोखिम बढ्न सक्ने कम्पनीको भनाइ छ।

एन्थ्रोपिकले सन् २०३३ सम्म गुगलसँग करिब ११४ अर्ब ५० करोड अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धता रहेको पनि जनाएको छ। कम्पनीका अनुसार पछिल्लो १२ महिनाको अवधिमा १० लाख अमेरिकी डलरभन्दा बढी आम्दानी दिने ग्राहकको सङ्ख्या एक हजार नौ सयभन्दा बढी पुगेको छ। रिपोर्टअनुसार आईपीओपछि कम्पनीको मूल्याङ्कन दुई ट्रिलियन अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यद्यपि, कम्पनीले आफ्नो आधिकारिक मूल्याङ्कन सार्वजनिक गरेको छैन।

यस आईपीओमा गोल्डम्यान स्याक्स र मोर्गन स्ट्यान्लीले प्रमुख व्यवस्थापकको भूमिका निर्वाह गर्नेछन्। एन्थ्रोपिकको सेयर निष्कासनले अत्याधुनिक कृत्रिम बुद्धिमत्ता प्रणाली विकासमा लाग्ने उच्च लागत र यस क्षेत्रको भविष्यको सम्भावनालाई लगानीकर्ताले कसरी मूल्याङ्कन गर्छन् भन्ने परीक्षण गर्नेछ। कम्पनीले आफ्नो दर्ता विवरणमा अत्याधुनिक कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न हुन सक्ने विनाशकारी जोखिम र मानव अस्तित्वमै पर्न सक्ने खतराबारे पनि चेतावनी दिएको छ। अमेरिकी बजारमा सार्वजनिक निष्कासन गर्न चाहने कम्पनीले व्यवसाय, वित्तीय अवस्था र सम्भावित जोखिमको विवरणसहित एसईसीमा बुझाउने दर्ता फारामलाई ‘फर्म एस–१’ भनिन्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *