कोरियाली सीमा तनावबीच दक्षिण कोरियामा शीर्ष स्थानमा पुग्यो ‘कल अफ ड्युटी’ भिडियो गेम
सियोल। उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु समेटिएको चर्चित भिडियो गेम ‘कल अफ ड्युटीः मोडर्न वारफेयर ४’ दक्षिण कोरियामा सर्वाधिक बिक्री हुने गेम बन्न सफल भएको छ। वास्तविक जीवनमा दुई कोरियाबीचको सीमा क्षेत्रमा तनाव बढिरहेका बेला सार्वजनिक भएको यो गेमले त्यहाँका गेमर तथा युवाहरूको ध्यान खिचेको छ।
शुक्रबार सार्वजनिक गरिएको लोकप्रिय ‘कल अफ ड्युटी’ शृङ्खलाको यो पछिल्लो संस्करण विश्वव्यापी तथा दक्षिण कोरियाली बजारको बिक्री सूचीमा शीर्ष स्थानमा पुगेको छ। पीसी गेमहरूको प्रमुख डिजिटल वितरण प्लेटफर्म ‘स्टीम’ का अनुसार यस गेमले दुवै बजारमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
उक्त गेमको कथावस्तुमा अमेरिका र रुसबीचको तनावका साथै उत्तर कोरियाको सत्ता संघर्ष र दक्षिण कोरियामाथिको आकस्मिक आक्रमणलाई मुख्य विषय बनाइएको छ।
कथाको सुरुआत उत्तर कोरियाली सेनाले प्याराट्रुपर (प्यारासुटधारी सेना) र भूमिगत सुरुङहरूको प्रयोग गरी दक्षिण कोरियाली तथा अमेरिकी सेनामाथि आक्रमण गरेपछि हुन्छ। यसमा खेलाडीहरूले युवा अमेरिकी तथा दक्षिण कोरियाली सैनिक र उत्तर कोरियाका नयाँ नेतासहित विभिन्न पात्रहरूको भूमिका निर्वाह गर्न सक्ने व्यवस्था गरिएको छ।
यो गेम सार्वजनिक हुनुभन्दा ठीक अघि कोरियाली सैन्यविहीन क्षेत्र (डीएमजेड) मा भएको एक शङ्कास्पद विस्फोटमा परि तीन जना दक्षिण कोरियाली सैनिक घाइते भएका थिए। यस घटनाले दुई देशबीचको विद्यमान तनावलाई अझ बढेको छ।
दक्षिण कोरियामा सबै युवाहरूका लागि अनिवार्य सैन्य सेवा गर्नुपर्ने कानुनी व्यवस्था रहेका कारण पनि यस गेमको काल्पनिक कथावस्तुले यहाँका नागरिकमा विशेष चासो र कौतूहल जगाएको छ।
सामाजिक सञ्जाल ‘थ्रेड्स’ मा आफ्नो प्रतिक्रिया दिँदै एक प्रयोगकर्ताले यो गेम खेल्दा कोरियाली युद्धमा प्रत्यक्ष सहभागी आफ्ना हजुरबुबाको सम्झना आएको उल्लेख गरेका छन्। त्यस्तै, अर्का एक प्रयोगकर्ताले यदि उत्तर कोरियाले वास्तविक रूपमै आक्रमण गरेमा दक्षिण कोरियाको सीमावर्ती क्षेत्र ग्याङवोन र राजधानी सियोलसमेत गम्भीर जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
यद्यपि, दुई कोरियाबीचको पीडादायी र गम्भीर इतिहास तथा वर्तमान शत्रुतालाई मनोरञ्जनको विषय बनाइएको भन्दै यस गेमको चर्को आलोचना पनि भइरहेको छ। ‘किम डे जुङ पिस सेन्टर’ का अध्यक्ष किम सुङ–जेले यस्ता संवेदनशील विषयहरूलाई खेलका रूपमा प्रस्तुत गर्नु कतिको उपयुक्त हो भन्ने गम्भीर प्रश्न खडा भएको बताएका छन्।
यसैबीच, उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमहरूले जनाएअनुसार सर्वोच्च नेता किम जोङ उनले गत साता राजधानी प्योङयाङमा आयोजित एक उच्चस्तरीय सैन्य बैठकलाई सम्बोधन गर्दै आफ्ना सेनालाई विश्वकै सबैभन्दा शक्तिशाली बनाउन कडा निर्देशन दिएका छन्।
स्मरण रहोस्, सन् १९५० देखि १९५३ सम्म चलेको भीषण कोरियाली युद्ध कुनै शान्ति सम्झौतामा नभई केवल युद्धविराममा मात्र टुङ्गिएकाले दुई देश प्राविधिक रूपमा अझै पनि युद्धकै अवस्थामा रहेका छन्। दक्षिण कोरियामा उत्तर कोरियाको बढ्दो आणविक तथा सैन्य क्षमताबाट उत्पन्न हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न संयुक्त राज्य अमेरिकाले करिब २८ हजार सेना तैनाथ गर्दै आएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment