मेहनत र लगानीअनुसार दूधको मूल्य नपाउँदा दाङका किसान मारमा

डिसी नेपाल
८ कार्तिक २०८३ १३:५०
4
Shares

घोराही । दाङका दुग्ध उत्पादक किसानले उत्पादन लागतअनुसार दूधको मूल्य पाउन नसक्दा आर्थिक समस्या झेल्नुपरेको छ। पशुपालनमा धेरै श्रम र लगानी गर्नुपर्ने भए पनि दूध बिक्रीबाट उचित आम्दानी नहुँदा किसान निराश बनेका हुन्।

किसानले कम मूल्यमा दूध बिक्री गर्नुपर्ने तर उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य निर्धारण प्रणालीमाथि प्रश्न उठाएको छ। दूध उत्पादनदेखि उपभोक्तासम्म पुग्दाको लागत र मुनाफाको पारदर्शी विवरण सार्वजनिक गर्नुपर्ने किसानहरूको माग छ।

घोराही उपमहानगरपालिका–२ रामपुरमा ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म सञ्चालन गर्दै आएका गोपाल खनालले दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएका छन्। उत्पादित दूधमध्ये करिब ६५ लिटर डेरीलाई बिक्री गर्ने गरेका उनले बाँकी दूध घरघरमा पुगेर उपभोक्तालाई बिक्री गर्छन्।

खनालका अनुसार डेरीमा दूध बिक्री गर्दा भैँसीको दूधको प्रतिलिटर ७५ रुपैयाँभन्दा बढी मूल्य पाउन कठिन छ। गाईको दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँसम्म मात्र पाइन्छ। तर, डेरी व्यवसायीले त्यही दूध उपभोक्तालाई प्रतिलिटर एक सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन्।

गाई र भैँसीको दूध उत्पादन लागत फरक भए पनि उपभोक्ताले दुवै प्रकारको दूधका लागि लगभग समान मूल्य तिर्नुपर्ने अवस्था रहेको खनाल बताउँछन्। दूधको मूल्य निर्धारण प्रक्रियामा किसानको सहभागिता नहुने उनको गुनासो छ।

दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधि तथा पशु उपचारको खर्च बढ्दै गए पनि किसानले पाउने मूल्य भने सोहीअनुसार वृद्धि हुन सकेको छैन। उत्पादन लागत बढ्दा किसानको आम्दानीमा दबाब परेको उनीहरूको भनाइ छ।

किसानले दूधको उचित मूल्य नपाइरहेका बेला डेरी व्यवसायीले भने दूधबाट उत्पादित दही, पनिर र घिउको मूल्य बढाएका छन्। व्यवसायी समितिले घोराहीमा असोज १५ गतेदेखि लागू हुने गरी यी वस्तुको मूल्य वृद्धि गरेको हो। लागत बढेको कारण देखाउँदै मूल्य समायोजन गरिएको व्यवसायीले जनाएका छन्।

हाल दहीको मूल्य प्रतिलिटर १४० रुपैयाँ, पनिरको प्रतिकिलो ९०० रुपैयाँ र घिउको प्रतिकिलो एक हजार ४५० रुपैयाँ निर्धारण गरिएको छ।

घोराहीका अर्का एक किसानले पनि दूध प्रतिलिटर ७० देखि ७५ रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्। मोटरसाइकलमा आफैँ दूध बजारसम्म पुर्‍याउने भएकाले उक्त मूल्य पाउने गरेको उनले बताए। तर, दूध पुर्‍याउन लाग्ने यातायात खर्च, समय र श्रमसमेत जोड्दा वास्तविक आम्दानी अझै कम हुने उनको भनाइ छ।

पशुपालनका लागि दाना, औषधि, श्रमिक, विद्युत्, पानी तथा पशु स्वास्थ्य सेवामा लाग्ने खर्च बढिरहेको भए पनि दूधको मूल्य लागतअनुसार समायोजन हुन नसकेको किसानहरूको गुनासो छ। मेहनत र लगानी गर्ने किसान नै मूल्य निर्धारण प्रक्रियामा कमजोर अवस्थामा रहनुपरेको उनीहरू बताउँछन्।

किसानहरूले दूधको मूल्य निर्धारण गर्दा उत्पादन लागतको वैज्ञानिक हिसाब गर्नुपर्ने, मूल्य निर्धारण प्रक्रियामा किसानको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र बजारसम्म दूध पुर्‍याउँदा लाग्ने खर्चसमेत मूल्याङ्कन गर्नुपर्ने माग गरेका छन्। किसानले उचित मूल्य पाउने व्यवस्था भएमा दुग्ध उत्पादनमा प्रोत्साहन मिल्ने र उपभोक्ताले तिर्ने मूल्यसमेत पारदर्शी बनाउन सकिने उनीहरूको अपेक्षा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *