बाढीपहिरो प्रभावित म्याग्दीका सबै क्षेत्रमा विद्युत् आपूर्ति पूर्ववत्

डिसी नेपाल
८ कार्तिक २०८३ ११:०८

म्याग्दी । गत महिनाको बाढीपहिरोबाट प्रभावित म्याग्दी जिल्लाका सबै क्षेत्रमा विद्युत् आपूर्ति पूर्ववत् भएको छ। नेपाल विद्युत् प्राधिकरणका बेनी र तातोपानी वितरण केन्द्रले क्षतिग्रस्त प्रसारण लाइन, शाखा लाइन तथा अन्य संरचनाको मर्मत गरेपछि विद्युत् सेवा पुनः सञ्चालनमा आएको हो।

बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा शनिबारदेखि विद्युत् सेवा सञ्चालन भएको छ। अन्य धेरै स्थानमा दुईदेखि तीन दिनभित्रै विद्युत् आपूर्ति पुनः सुरु गरिए पनि पाउद्धार, गिवाङ र किन्दु क्षेत्रमा भने मर्मतका लागि बढी समय लागेको थियो।

चाडपर्वको समयमा समेत कर्मचारी र मजदुरलाई रातिसम्म परिचालन गरेर विद्युत् सेवा सञ्चालन गरिएको गामीले बताए। कतिपय स्थानमा वैकल्पिक संरचना र माध्यमबाट विद्युत् आपूर्ति गरिएको छ। अब दोस्रो चरणमा थप मर्मत गरी विद्युत् सेवालाई नियमित र व्यवस्थित बनाउने प्राधिकरणको योजना छ।

बाढीपहिरोले प्राधिकरणको ३३/११ केभी प्रसारण तथा वितरण लाइनका २५० वटा पोल र तिनमा जडान गरिएका तारमा क्षति पुर्‍याएको थियो। यसबाट करिब एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

अन्नपूर्ण गाउँपालिकाका राम्चे र हिस्तानमा यसअघि पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटबाट विद्युत् आपूर्ति हुने गरेको थियो। त्यस्तै, पाउद्धारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत् आपूर्ति गरिएको छ।

बेनी वितरण केन्द्रअन्तर्गत मिलनचोक सबस्टेसनमार्फत पर्वतको जलजला गाउँपालिकाका मल्लाज र वारीबेनीसहित २४ हजार ४९० ग्राहकले विद्युत् सेवा लिइरहेका छन्। तातोपानी वितरण केन्द्रले अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ सहित मुस्ताङमा विद्युत् आपूर्ति गर्दै आएको छ।

विद्युत् सेवा पुनः सञ्चालन भएपछि बाढीपहिरोबाट प्रभावित ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *