स्वर्णिम वाग्लेको दिल्ली वक्तव्यमाथि कमल थापाको प्रहार: ‘सीमा र नाकाबन्दीविरुद्ध बोल्नु भारत-विरोध होइन’

डिसी नेपाल
८ कार्तिक २०८३ ११:३१
16
Shares

काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा व्यक्त गरेको धारणाप्रति कडा आपत्ति जनाउँदै त्यसको तीव्र विरोध गरेका छन्।

अर्थमन्त्री डा. वाग्लेले भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ लाई सम्बोधन गर्दै नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने पुराना भाष्य र युगको अन्त्य भएको अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिको खण्डन गर्दै नेता थापाले सामाजिक सञ्जालमार्फत अर्थमन्त्रीको भनाइ आपत्तिजनक र नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन भएको बताएका छन्।

दिल्ली समिटमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले नयाँ पुस्ताको चाहना आर्थिक समृद्धि र सुशासन रहेको स्पष्ट पारेका थिए। विगतका दशकहरूमा निश्चित वैचारिक प्रशिक्षणका कारण नेपाली राष्ट्रवादलाई ‘भारत-विरोध’सँग जोडेर हेर्ने भाष्य निर्माण गरिएको तर्क गर्दै उनले भनेका थिए, “हाम्रो पुस्ता फरक छ। हामीले विश्व देखेका छौँ, हाम्रा आकांक्षाहरू आर्थिक विकासमा केन्द्रित छन्। हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौँ। त्यसैले नेपाली राष्ट्रवादलाई ‘एन्टी-इन्डियनिज्म’ (भारत-विरोध) सँग जोड्ने त्यो युग अब समाप्त भइसकेको छ।”

अर्थमन्त्री वाग्लेको उक्त अभिव्यक्ति सार्वजनिक भएलगत्तै पूर्वपरराष्ट्रमन्त्री थापाले नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा नटिकेको स्पष्ट पारेका छन्। “विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका संवेदनशील मुद्दाहरूलाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ,” थापाले लेखेका छन्।

सानो समूहको केही अपवादमूलक धारणालाई लिएर सिङ्गो मुलुकको राष्ट्रिय भावनालाई संकुचित देख्नु अर्थमन्त्री डा. वाग्लेको पूर्वाग्रही चश्माको उपज भएको थापाको आरोप छ। नेपालको राष्ट्रियता आफ्नो देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित रहेको उल्लेख गर्दै उनले नेपालले भारतसँग सदैव समानता र सम्मानजनक सम्बन्ध चाहेको बताएका छन्।

सीमा अतिक्रमण, सीमावर्ती क्षेत्रको डुबान वा विगतका नाकाबन्दीजस्ता ज्यादतीका विरुद्ध आवाज उठाउनु भारत-विरोध नभई राष्ट्रप्रतिको अविभाज्य निष्ठा भएको थापाको ठहर छ। उनले प्रश्न गर्दै भनेका छन्, “के राष्ट्रहितमा उठ्ने यी सार्वभौम आवाजहरू अब असान्दर्भिक भइसकेका हुन्? अर्थमन्त्री वाग्लेको यो अभिव्यक्ति कतै विगतमा उहाँले अघि सारेको आत्मघाती ‘मनरो डक्ट्रिन’कै नयाँ रूप त होइन?“

यसअघि पनि नेपालको सनातन धर्म, राजसंस्था र नेपाली सेनाका सन्दर्भमा वाग्लेले दिने गरेका कतिपय अभिव्यक्तिहरू विवादित बन्दै आएका बेला दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय मञ्चमा उनले दिएको परराष्ट्र नीति र राष्ट्रवादसम्बन्धी पछिल्लो वक्तव्यले नेपालको राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *