एनपीएल तेस्रो संस्करण: घरेलु मैदानमा विदेशी र स्वदेशी खेलाडीको भिडन्त

डिसी नेपाल
८ कार्तिक २०८३ १२:०५
16
Shares

काठमाडौं।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानले फेरि एकपटक इतिहास रचना गर्ने समय अब धेरै टाढा छैन। औपचारिक रूपमा भोलि (सोमबार) देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नयाँ सपनाको साक्षी बन्ने अन्तिम तयारी पूरा गरिसकेको छ।

यो आयोजना नेपाली खेलकुदको एउटा उत्सव मात्र होइन, उपलब्धिको बलियो साक्षी पनि हो। यसका साथै यो नेपाली क्रिकेटको व्यावसायिक उचाइ र रूपान्तरणको गतिलो दस्तावेजका रूपमा प्रस्तुत भएको छ।

तर, यसपटकको प्रतियोगिता थप चर्चित बन्नुको मुख्य कारण विदेशी खेलाडीहरूको उल्लेख्य उपस्थिति हो। प्रतियोगिता नजिकिँदै गर्दा विभिन्न फ्रेन्चाइज टोलीहरूले आफ्ना विदेशी कोटाका ‘स्टार’ खेलाडीहरूलाई पूर्ण रूपमा पक्का गरी कीर्तिपुरको मैदानमा उतार्ने अन्तिम प्रक्रिया पूरा गरिसकेका छन्।

विदेशी खेलाडीहरूको आगमनले बजारको ग्राफलाई अझै उकालो लगेको छ। सङ्घर्षबीच मौलाएका नेपाली प्रतिभा र विदेशी ‘स्टार’ हरूको सङ्गमपछिको परिणामको प्रतीक्षा निश्चय नै अत्यन्तै महत्त्वपूर्ण हुनेछ।

विदेशी अनुहारको आगमन र फेरिएको व्यावसायिक ग्राफ

त्यसो त अघिल्ला दुई शृङ्खलामा पनि विदेशी खेलाडी नआएका होइनन्। पहिलो शृङ्खलामा भारतीय स्टार खेलाडी शिखर धवनको आगमनसँगै प्रारम्भ भएको विदेशी खेलाडी नेपाल आएर खेल्ने शृङ्खला यसपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नीतिपछि पूर्ण रूपमा संस्थागत हुन पुगेको छ।

आईसीसीले एनपीएललाई आधिकारिक मान्यता दिएसँगै यसपटक विश्व खेलजगत्का स्थापित र चर्चित ‘स्टार’ हरू मोइन अली, शाकिब अल हसन, रबी बोपारा, मार्क वाट, हुसेन तलात, आरिफुल इस्लाम, अकबर अली, सेफ अली जैब, स्कट कुगेलेइन, निरोशन डिकवेला, हरमित सिंह, शाहबजादा फरहान, जिमी निसम, डेभिड वार्नर, केएस भरत, सचन अर्चगे, आन्द्रे रसल, एन्जेलो म्याथ्युज, चरित असलंका, शुभम रञ्जने, इफ्तिकार अहमद, शेर्फान रदरफोर्ड, मेहन्दी हसन र फ्याबियन एलेनजस्ता नामहरूले नेपाली माटोमा पाइला टेक्ने सुनिश्चित भइसकेको छ।

यसबाट क्रिकेट बजारमा जुन ऐतिहासिक तरङ्ग पैदा भएको छ, त्यसले आम खेलप्रेमीहरूलाई निकै रोमाञ्चित र अचम्मित बनाएको छ। तर, आईसीसीसँग राम्रो सम्बन्ध रहेको भनिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने यो खेल महोत्सवमा आईसीसी अध्यक्ष जय शाहको मुलुक (भारत) बाट उल्लेख्य खेलाडी सहभागी नहुनु अर्थपूर्ण मानिएको छ।

खेल समीक्षक तथा साहित्यकार रमेश रञ्जन भन्छन्, “यसले प्रश्न त उठ्छ नै। आईसीसीले मान्यता दिए पनि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले एनपीएललाई खुलेर मान्यता दिन सकेको छैन शायद। त्यसैले भारतका पर्याप्त खेलाडी सहभागी भएको देखिएन। भारतीय खेलाडीको उपस्थिति नेपाल र नेपालीका लागि निकै महत्त्वपूर्ण छ।”

अग्रज खेल पत्रकार तथा समीक्षक मुकुन्द दाहालका अनुसार नेपालमा भारतीय खेलाडीको अलगै ‘क्रेज’ छ। नेपालका थुप्रै खेलाडीले भारतीय खेलाडीलाई हेर्दै आफ्नो खेल जीवन (करियर) अगाडि बढाएका छन्।

विदेशी खेलाडी नेपालमा आएर खेल्नु महत्त्वपूर्ण कुरा त हो, तर यो बाह्य चम्किलो प्रकाश, ठूलो धनराशि र स्टारडमको भिडभाडबीच नेपाली क्रिकेटको आफ्नै जरा र यहाँका उदीयमान युवाहरूको भविष्य कता जाँदैछ भन्ने गम्भीर प्रश्नले अहिले बौद्धिक तथा खेल वृत्तमा ठूलो बहस सिर्जना गरेको छ।

अग्रज खेल पत्रकार तथा समीक्षक दाहाल थप्छन्, “यसपटकको प्रतियोगितामा आईसीसीको आधिकारिक मान्यता र प्रत्येक फ्रेन्चाइज टोलीले आठ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नीतिले मैदानभित्र र बाहिरको तापक्रमलाई अर्कै उचाइमा पुर्‍याएको छ। यो सकारात्मक हो। तर नेपाली प्रतिभाको भविष्य सुनिश्चित गर्ने रणनीतिको भने अभाव देखियो।”

विदेशीलाई अवसर कि स्वदेशी प्रतिभाको अवमूल्यन?

विदेशी खेलाडीहरूको यो बाक्लो उपस्थितिले नेपालको व्यावसायिक खेलकुदको आकार र ब्रान्डिङलाई त निकै फराकिलो बनाएको छ, तर यसले नेपाली खेलकुद वृत्तमा मिश्रित प्रतिक्रिया र वैचारिक मन्थन पनि जन्माएको छ। यस विषयमा क्रिकेट प्रशंसक एवम् विश्लेषक सञ्जय ढुङ्गानाको भनाइ महत्त्वपूर्ण छ।

उनी भन्छन्, “विदेशका ताराको उज्यालोले नेपालको अँध्यारोको अन्त्य हुन्छ कि हुन्न? यो सोचनीय विषय छ। नेपाली प्रतिभालाई गौण बनाएर ल्याइने विदेशी खेलाडीका भरमा मात्र नेपालको खेलकुदको अपेक्षित विकास हुन सक्दैन।”

नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ता भने यसलाई विशुद्ध सकारात्मक र ऐतिहासिक छलाङका रूपमा हेर्छन्। उनी आफ्नो प्रष्ट धारणा राख्दै भन्छन्, “एनपीएलमा विश्वस्तरीय खेलाडीहरूको सहभागिता हुनु भनेको नेपालको खेलकुद पर्यटन र अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि एउटा सुनौलो अवसर हो। यसले हाम्रो क्रिकेटको बजारलाई मात्र फराकिलो बनाएको छैन, विश्वमा नेपालको साखलाई अझ उँचो बनाउन र नयाँ लगानी भित्र्याउन मद्दत गरेको छ।”

अर्कातिर, घरेलु मैदानमा खेल्ने स्थानीय र उदीयमान प्रतिभाहरू ओझेलमा पर्ने चिन्ता पनि उत्तिकै बलियो रूपमा उठेको छ। सप्तरीका पूर्वखेलाडी मोहन मिश्रको भोगाइ र विश्लेषण अलि फरक र गम्भीर छ।

उनी भन्छन्, “विदेशी खेलाडीहरूसँग एउटै ड्रेसिङ रुम सेयर गर्नु र मैदानमा उनीहरूका विरुद्ध प्रतिस्पर्धा गर्नु हाम्रा युवाहरूका लागि ठूलो सिकाइ हो, यसमा कुनै शङ्का छैन। तर, अर्को पाटोबाट गम्भीर भएर हेर्दा, जब मुख्य र निर्णायक भूमिकाहरूमा विदेशीहरू मात्र हाबी हुन्छन्, तब घरेलु खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने र अनुभव बटुल्ने पर्याप्त मञ्च गुमाउने जोखिम पनि उत्तिकै ठूलो रहन्छ।”

यसै विषयमा सर्लाहीका क्रिकेटप्रेमी तथा विश्लेषक विश्वमणि दाहाल भने सन्तुलित दृष्टिकोण राख्छन्। उनी भन्छन्, “यसलाई अतिरञ्जित रूपमा पूर्ण खतरा वा केवल अवसर मात्र भन्न मिल्दैन। नियम अनुसार मैदानमा एकसाथ चार जना मात्र विदेशी खेलाडी खेल्न पाउनेछन् र सात जना नेपाली खेलाडी त सधैँ मैदानमै हुनेछन्।

मुख्य कुरा हामीले विदेशीहरूको यो उपस्थितिबाट कति छिटो र प्रभावकारी रूपमा सिकाइमा रूपान्तरण गर्न सक्छौँ भन्ने हो। यदि सही व्यवस्थापन र शिक्षण (ट्युटरिङ) भयो भने यो नेपाली खेलाडीहरूका लागि आफ्नै स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउने गतिलो माध्यम बन्न सक्छ।”

जे होस्, एनपीएलको यो तेस्रो संस्करणले नेपाली क्रिकेट मैदानमा चौका र छक्काको उचाइ मात्र बढाएको छैन, यसले नेपाली खेलकुदको अर्थतन्त्र, व्यवस्थापकीय परिपक्वता र दूरदर्शितालाई पनि उजागर गरेको छ।

विदेशी स्टारको चमकले नेपाली माटोमा पसिना बगाउने युवा प्रतिभाहरूको भविष्यलाई कुनै पनि हालतमा ओझेलमा पर्न दिनु हुँदैन। भोलिदेखि कीर्तिपुरको मैदानमा गुन्जिने हजारौँ दर्शकको ताली र हुटिङले जसरी विदेशी खेलाडीको कलात्मक खेललाई सम्मान गर्छ, ठिक त्यसरी नै नेपाली माटोका होनहार खेलाडीको सङ्घर्ष, क्षमता र अवसरलाई पनि न्याय गर्न सक्नुपर्छ। यही सन्तुलनले मात्र एनपीएललाई दीर्घकालीन रूपमा सफल र सार्थक बनाउनेछ।

धर्मेन्द्र झा/नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *