पहिरो प्रभावित भन्छन्: ‘आश्रयस्थलभन्दा आफन्तको खाली घरमा बस्न सहज भयो’

सन्तोष गौतम/रासस
८ कार्तिक २०८३ ७:४६
4
Shares

शिख (म्याग्दी)। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका कारण आफ्नो घर छाड्नुपर्‍यो। सुरुका केही दिन शिखको अस्थायी आश्रयस्थलमा बिताएकी उनी अहिले दिदी सुनमाया तिलिजाले उपलब्ध गराइदिएको खाली घरमा बस्न थालेकी छन्।

सुनमायाको परिवार बसाइँ सरेपछि उक्त घर खाली नै थियो। विपद्का कारण घरबारविहीन बनेकी भूमदेवीको परिवारका लागि त्यही घर अहिले भरपर्दो आश्रय बनेको छ। “करिब १५-२० दिन शिखको आश्रयस्थलमा बसेपछि घरसल्लाह गरेर दिदीको खाली घरमा बस्ने निर्णय लिएका हौँ,” भूमदेवीले भनिन्, “सरकारले पनि कति आश्रयस्थलमा राख्न सक्ला र भन्ने लाग्यो। आफ्नै घर नबनाउँदासम्मका लागि दिदीको खाली घरमा बस्न थालेका हौँ।”

भूमदेवीको परिवारले आपत्का बेला आश्रय पाएको छ भने सुनमायाको उपयोगविहीन घर पनि काममा आएको छ। भूमदेवीजस्तै किन्दु टोलका धेरैजसो विस्थापित परिवार आफन्तका खाली घरमा बस्न थालेका छन्। कतिपय परिवार भने शिख देउराली, शिख तल्लो र शिख उपल्लो गाउँमा व्यवस्थापन भएका छन्।

आश्रयस्थलबाट आफ्नै व्यवस्थापनतर्फ

अन्नपूर्ण-५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङमा गरी कुल ४५ घर रहेका छन्। पोखरा, काठमाडौंलगायत सहरमा बसाइँ सरेका परिवारबाहेक ३५ घरपरिवार गाउँमै नियमित बसोबास गर्थे। गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि यी बस्तीहरू पहिरोले घेरिएका थिए भने गाउँसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।

त्यसबेला जोखिममा परेका ९१ जनालाई हेलिकप्टरबाट उद्धार गरी शिख देउरालीस्थित कान्छीबाराही युवा क्लबको खेलमैदानमा ल्याइएको थियो। त्यहाँ उनीहरूका लागि अस्थायी आश्रयको व्यवस्था गरिएको थियो।

उक्त पहिरोले नारायण शेरपुञ्जा पुन, रुकबहादुर पुर्जा, खेमबहादुर पाइजा, रेकबहादुर पुर्जा, तमबहादुर पुर्जा र जुगमान चोचाङ्गीका घरहरू पूर्ण रूपमा भत्काएको थियो। अन्य धेरै घरहरू ढलेका नभए पनि चर्किएर बस्नै नमिल्ने अवस्थाका बनेका छन्।

आश्रयस्थलका टहरा र पालमा बस्दै आएका धेरैजसो परिवारले दसैँअघि नै आफ्नो बसोबासको वैकल्पिक व्यवस्था मिलाइसकेका छन्। टोल संयोजक दीपक तिलिजाका अनुसार विस्थापितहरू आफन्तका खाली घर र अन्य सुरक्षित स्थानमा सरिसकेका छन्।

शनिबार दिउँसो आश्रयस्थलमा भेटिएका नारायण शेरपुञ्जा पुनले पनि विस्थापितहरू आफैँ आफ्नो व्यवस्थापन गर्न थालेको बताए। तर, उनको आफ्नै परिवार भने अझै अन्योलमा रहेको छ।

घर, गोठ र खेतीयोग्य जमिन पहिरोमा

पहिरोले नारायणको घर, गोठ र सम्पूर्ण खेतीयोग्य जमिन बगाएको छ। घरमा राखिएको अन्नपात र अन्य सामान निकाल्ने मौकासम्म पनि मिलेन।

“२०-२१ मुरी आलु र दुई मुरी मकैसहित घरमा भएका सामान निकाल्न पाइनँ, सबै पहिरोले बगायो,” उनले भने, “पहिरो जाने दिन गोठबाट फुकाएर जंगलमा पठाएको भैँसी बाटो नभएकाले अझै ल्याउन सकेको छैन।”

उनकी श्रीमती पोखरामा रहेका छोराछोरीहरूसँग गएकी छन्। नारायण पनि कसैको खाली घरमा बसेर आफ्नै खेतबारीमा काम गर्ने सोचमा छन्, तर घर र जग्गा जमिन टाढा भएकाले उनले निर्णय लिन सकेका छैनन्।

त्यसैले उनी अझै आश्रयस्थलमै बसिरहेका छन्। उनको घर चार वर्षअघि पनि पहिरोले भत्काएको थियो। घर पुनःनिर्माणबापत सरकारले दिने रु पाँच लाखमध्ये पूरै अनुदान रकम नपाउँदै उनले बनाएको नयाँ घर फेरि भत्किएको हो।

वर्षा रोकिएपछि विस्थापितहरू दैनिक काममा फर्कन थालेका छन्। दिनभर गाउँमा पुगेर खेतबारी र घरायसी काम गर्छन् भने कतिपयले घरका बाँकी सामान सुरक्षित ठाउँमा सारिरहेका छन्। साँझ परेपछि खाना खान र सुत्नका लागि उनीहरू होल्डिङ सेन्टर फर्कने गरेका छन्।

“दसैँअघि आश्रयस्थलमा धेरै जना हुनुहुन्थ्यो, अहिले सङ्ख्या घट्दै गएको छ,” रेकबहादुर पुर्जाले भने, “विपद्का बेला सरकारको मुख मात्र ताकेर बस्दा दुःख पाइन्छ भन्ने लागेर सक्ने र सम्भव हुनेहरूले आफैँ व्यवस्थापन गर्नुभएको छ।”

अस्थायी बसोबासको व्यवस्था मिलाउँदैमा विस्थापितका सबै समस्या समाधान भएका छैनन्। घर भत्किएर सामान निकाल्न नपाएकाहरूलाई खाद्यान्न, भाँडाकुँडा र लत्ताकपडाको ठूलो अभाव छ। उनीहरूलाई राहत तथा सहयोगको आवश्यकता अझै उत्तिकै छ। शिखका अगुवा गणेश गुरुङ (सुरेन)का अनुसार सरकारी निकाय र दाताको सहयोग जुटाएर प्रभावित परिवारको बसोबास सहज बनाउने प्रयास निरन्तर भइरहेको छ।

विद्युत् र खानेपानीसँगै पदमार्गको समस्या

विपद्बाट सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ मा पुनःस्थापनाको चुनौती कायमै छ। वडाअध्यक्ष राजेश तिलिजा पुनका अनुसार विद्युत्, खानेपानी र पदमार्ग तत्काल सुधार गर्नुपर्ने अवस्था छ।

“सडक त अहिले धेरै टाढाको विषय भएको छ,” उनले भने, “धेरै प्रयासपछि विद्युत् सेवा सञ्चालन हुन थालेको छ। श्रमदान गरेर पदमार्ग निर्माण गरिरहेका छौँ र खानेपानीको व्यवस्था मिलाउने प्रयासमा पनि जुटेका छौँ।”

पहिरो प्रभावित बस्तीको भौगर्भिक अवस्था अध्ययन गर्न विज्ञ टोली आउन ढिलाइ हुँदा पुनःस्थापनासम्बन्धी निर्णय लिन कठिन भएको वडा अध्यक्ष तिलिजाले बताए। कुन बस्तीमा बस्न सुरक्षित छ र कहाँबाट स्थानान्तरण गर्नुपर्छ भन्ने यकिन नहुँदा प्रभावित परिवारहरू अन्योलमा परेका छन्।

अन्य बस्तीका आश्रयस्थल पनि खाली हुँदै

अन्नपूर्ण-५ को पाउद्धारबाट विस्थापित भएकाहरू बस्दै आएको घारस्थित वडा नम्बर ६ को अस्थायी आश्रयस्थल पनि यही कात्तिक १ गतेदेखि बन्द भएको छ।

घारका वडाअध्यक्ष रामबहादुर खड्काका अनुसार विस्थापितहरूले आफ्ना सामान आश्रयस्थलमै राखेर आफन्तकहाँ र गाउँमा फर्किएका छन्। फेरि वर्षा भएमा पुनः आश्रयस्थलमै आउने गरी उनीहरू गएका हुन्। घारको आश्रयस्थलमा पाउद्वारका ११५ जनासम्मले आश्रय लिएका थिए।

त्यस्तै, अन्नपूर्ण गाउँपालिका-८ महभिरबाट विस्थापित भएका ३० परिवार बस्दै आएको सिरुवारीको आश्रयस्थल पनि खाली भएको छ। वडाअध्यक्ष खमबहादुर गर्बुजाका अनुसार महभिरका प्रभावित परिवारहरू खाली घर खोजेर आफैँ बसोबास मिलाउने प्रयासमा छन्। घर नपाएकाहरूका लागि व्यवस्थापनमा सहजीकरण भइरहेको छ।

यस वर्षको मनसुनजन्य विपद्मा परी अन्नपूर्ण गाउँपालिकामा छ जनाको मृत्यु भएको छ। गाउँपालिकाका अनुसार ६० घर पूर्ण र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

विपद्पछि अस्थायी आश्रयस्थलमा सुरु भएको जीवन अब बिस्तारै प्रभावितहरूकै आफ्नै व्यवस्थापनतर्फ अघि बढेको छ। आफन्तका खाली घर, गाउँका सुरक्षित बस्ती र उपलब्ध स्रोत नै विस्थापितका लागि तत्कालको सहारा बनेका छन्। तर, घर गुमाएका परिवारको सुरक्षित पुनःस्थापना र आधारभूत सेवाहरू पुनःस्थापित नहुँदासम्म उनीहरूको सङ्घर्ष भने कायमै रहनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *