मिथिलामा धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदै, १४२ वर्ष पुरानो ‘भार’ परम्पराले पायो निरन्तरता
जनकपुरधाम। मिथिलासहित प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदैछ। बडादशैँ र दुर्गापूजाको विधिवत् समापनसँगै मनाइने कोजाग्रत पूर्णिमालाई मिथिला क्षेत्रमा विशेष हर्षोल्लासका साथ मनाउने परम्परा रहेको छ। यस पर्वलाई शरद् पूर्णिमाका रूपमा पनि चिनिन्छ।
आजको दिन आकाशमा चन्द्रमा सोह्र कलाले पूर्ण हुने भएकाले यसको विशेष धार्मिक तथा आध्यात्मिक महत्त्व रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए। उनका अनुसार आजको दिनलाई ‘महारास’ को दिनका रूपमा समेत मानिन्छ।
धार्मिक मान्यता अनुसार आजकै दिन देवीदेवताहरूले रूप परिवर्तन गरी भगवान् श्रीकृष्ण र गोपीहरूसँग महारासमा सहभागी भएकाले यस दिनको महिमा उच्च रहेको उनले जानकारी दिए।
कोजाग्रत पूर्णिमाका अवसरमा विशेष गरी जनकपुरधाममा राति शीत (ओस) मा खिर राखेर त्यसको भोग लगाई भगवान् श्रीरामको विशेष पूजाअर्चना गर्ने परम्परा छ। यस दिन जानकी मन्दिर परिसरमा त्रेतायुगमा भगवान् राम र माता सीताको विवाहका क्रममा मिथिलावासीले गाउने मौलिक समदाउन, हाँसोठट्टा र गारी (विवाह गीत) गाउने परम्परालाई समेत निरन्तरता दिइन्छ। महन्थ दासका अनुसार नवदम्पतीहरूका लागि पनि यो पर्व विशेष उत्साह र रौनकका साथ मनाउने गरिन्छ।
१४२ वर्ष पुरानो रतौलीको ‘भार’ परम्परा
कोजाग्रत पूर्णिमाकै पावन अवसरमा जानकी मन्दिरमा महोत्तरीको रतौलीबाट भार (सगात) ल्याउने ऐतिहासिक परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ। रतौलीका स्वर्गीय महेन्द्र ठाकुरको परिवारले करिब १४२ वर्षदेखि प्रत्येक वर्ष यस दिन माता अन्नपूर्ण देवीलाई अर्पण गरिने विभिन्न सामग्रीसहितको भार जानकी मन्दिरमा भित्र्याउँदै आएको छ।
विगतमा सन्तान प्राप्तिको कामना गर्दै स्वर्गीय ठाकुरले गरेको भाकल पूरा भई उनका तीन छोराहरूको जन्म भएपछि सोही समयदेखि ठाकुर परिवारले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन जानकी मन्दिरमा नियमपूर्वक भार चढाउँदै आएको हो।
उक्त भारमा दही, चिउरा, दाल, विविध मिठाई, अचार, फलफूल र तरकारी लगायतका शुद्ध खाद्य सामग्रीहरू समावेश हुन्छन्। यी सम्पूर्ण सामग्रीहरू ठाकुर परिवारले आफ्नै खेतबारीमा उत्पादन गर्ने र आफ्नै घरमा शुद्धताका साथ तयार पार्ने गर्दछन्।
स्वर्गीय महेन्द्र ठाकुरका जेठा छोरा नवीनकुमार ठाकुरले यो ऐतिहािसक परम्परालाई आफ्ना आगामी पुस्ताले पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार मिथिला संस्कृतिमा विवाहपञ्चमीपछिको सबैभन्दा महत्त्वपूर्ण पर्व कोजाग्रत पूर्णिमा नै हो। आजका दिन जानकी मन्दिरमा पुगेर सच्चा मनले भाकल गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहँदै आएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment