दशैं मनाएर काठमाडौं फर्किनेको चहलपहल, मुख्य नाका र बसपार्कमा यात्रुको बाक्लो भीड (तस्बिरसहित)
काठमाडौं। महान् पर्व बडादशैँ मनाउन आ-आफ्नो गृहजिल्ला तथा गाउँघर पुगेका सर्वसाधारण पुनः काठमाडौँ उपत्यका फर्किने क्रम तीव्र बनेको छ। दशैँको टीका र जमरा ग्रहण गरेसँगै सुरु भएको उपत्यका भित्रिने क्रम सोमबारदेखि सरकारी कार्यालय, निजी क्षेत्र तथा वित्तीय संस्थाहरू नियमित रूपमा सञ्चालनमा आउने भएसँगै झनै बढेको हो।
काठमाडौँको जडीबुटीस्थित बसपार्कमा गाउँबाट फर्किने यात्रुहरूको बाक्लो भीड देखिएको छ। दशैँ बिदा सकेर काम तथा अध्ययनका लागि काठमाडौँ फर्किने यात्रुहरू बसबाट ओर्लिने र आफ्नो गन्तव्यतर्फ जाने क्रम निरन्तर जारी छ।
बिदा सकिएर नियमित कामधन्दा र सेवा प्रवाह सुरु हुने भएपछि उपत्यका प्रवेश गर्ने प्रमुख नाकाहरूमा यात्रु तथा सवारी साधनको चाप उच्च देखिएको छ। विशेषगरी उपत्यकाको मुख्य प्रवेशद्वार मानिने नागढुंगा, कलंकी, बालाजु, कोटेश्वर र बल्खु क्षेत्रमा सवारी साधनको लामो लाइन र यात्रुको बाक्लो भीडभाड छ। त्यसैगरी, देशका पूर्व, पश्चिम र मध्य भूभागबाट आउने लामो दूरीका सवारी साधनको आगमनसँगै नयाँ बसपार्क क्षेत्रमा पनि सर्वसाधारणको उल्लेख्य चाप बढेको छ।
बडादशैँको अवधिमा लाखौँ नागरिक गाउँघर फर्किएपछि उपत्यकाका सडक, बजार र गल्लीहरू सुनसानप्रायः बनेका थिए। तर, बिदा सकिएर सर्वसाधारणहरू आफ्नो कर्मथलो फर्किने क्रम बढेसँगै मलेखु, नागढुङ्गा, भक्तपुरको जगाती लगायतका क्षेत्रमा सास्ती कम गर्न र यात्रालाई सहज बनाउन उपत्यका ट्राफिक प्रहरीले मुख्य नाकाहरूमा थप जनशक्ति परिचालन गरेको छ।
नागढुङ्गा-नौबिसे सडक खण्ड तथा पृथ्वी राजमार्गका विभिन्न स्थानमा बाढी-पहिरोका कारण सडक मर्मत र एकतर्फी सवारी सञ्चालन भइरहेकाले यात्रुहरूले घण्टौँ जामको सामना गर्नुपर्ने बाध्यता समेत देखिएको छ। यसका बावजुद पनि सोमबारदेखि सम्पूर्ण सरकारी तथा निजी कार्यालयहरू पूर्ण रूपमा खुल्ने भएपछि काठमाडौँ भित्रिने गाडी र यात्रुहरूको चाप साँझसम्मै निरन्तर बढिरहेको छ।
तस्बिर : कुशल बस्ताकोटी, नेपाल न्यूज बैंक













No ads found for this position



डिसी नेपाल
Facebook Comment