अस्पतालमा जनशक्ति अभाव हटाउन नयाँ दरबन्दी र संरचना थप्ने तयारी

डिसी नेपाल
८ कार्तिक २०८३ १५:०५

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अस्पतालमा बढ्दो बिरामीको चापअनुसार जनशक्ति थप्ने र भौतिक संरचना विस्तार गर्ने तयारी भइरहेको बताएकी छन् ।

आइतबार जानकी मन्दिर दर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मेहताले संघीय र प्रदेश सरकारबीच समन्वय गरेर अस्पतालको सेवा सुधार गर्ने काम भइरहेको बताइन् । प्रदेशअन्तर्गतका अस्पतालमा समस्या देखिए पनि त्यसको समाधान प्रदेश सरकारको मात्र जिम्मेवारी नभएको भन्दै उनले संघीय सरकारले पनि आवश्यक पहल गर्नुपर्ने धारणा राखिन् ।

उनले स्वास्थ्य मन्त्री तथा प्रदेशका सचिवसँग समन्वय र छलफल भइरहेको जानकारी दिँदै अस्पतालका समस्या समाधान गर्न दुवै सरकार मिलेर काम गरिरहेको बताइन् ।

मन्त्री मेहताका अनुसार पछिल्लो समय जनसङ्ख्या बढ्दै गए पनि अस्पतालको क्षमता, भौतिक संरचना र स्वास्थ्यकर्मीको दरबन्दी सोहीअनुसार विस्तार हुन सकेको छैन । यसले गर्दा अस्पतालमा बिरामीको चाप बढ्नुका साथै सेवा प्रवाहमा समेत समस्या देखिएको छ ।

उनले भनिन्, ‘यो बीचमा न नयाँ दरबन्दी थपिएको छ, न संरचना वृद्धि भएको छ । जनसङ्ख्या पनि धेरै वृद्धि भएको छ । त्यसले गर्दा चाप बढी छ र समस्या आएको हो ।’

अस्पतालमा जनशक्ति अभाव समाधान गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गर्ने वा आवश्यक संरचना थप्ने विषयमा छलफल भइरहेको उनले बताइन् । यस विषयमा प्रदेशका स्वास्थ्यमन्त्रीसँग समेत परामर्श भइरहेको उनको भनाइ छ ।

अस्पतालमा नर्सलगायतका स्वास्थ्यकर्मीको अभाव रहेको विषयमा सरकार जानकार रहेको उल्लेख गर्दै मन्त्री मेहताले जनशक्ति र भौतिक संरचना विस्तारमार्फत स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न आवश्यक काम भइरहेको बताइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *