मिथिलामा कोजाग्रत पूर्णिमाको रौनक, १४२ वर्ष पुरानो परम्परा कायमै (भिडियोसहित)

डिसी नेपाल
८ कार्तिक २०८३ १५:४६

जनकपुरधाम । मिथिलासहित प्राचीन मिथिला क्षेत्रमा आज कोजाग्रत पूर्णिमा धुमधामका साथ मनाइँदैछ । दुर्गापूजाको समापनसँगै मनाइने यस पर्वलाई मिथिलावासीले विशेष हर्षोल्लासका साथ मनाउने परम्परा छ । कोजाग्रत पूर्णिमालाई शरद् पूर्णिमा पनि भनिन्छ ।

जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासका अनुसार आजको दिन चन्द्रमा सोह्र कलाले पूर्ण हुने भएकाले यसको विशेष धार्मिक महत्व छ । धार्मिक मान्यताअनुसार यस दिनलाई महारासको दिनका रूपमा समेत लिइन्छ । आजकै दिन देवीदेवताहरूले रूप परिवर्तन गरी भगवान् कृष्ण र गोपीहरूसँग महारासमा सहभागी भएको विश्वास रहेकाले यो पर्व विशेष मानिने उनले बताए ।

कोजाग्रत पूर्णिमाका अवसरमा विशेषगरी जनकपुरधाममा राति ओसमा बसेर खिरको भोग लगाउने र भगवान् रामको पूजा गर्ने परम्परा छ । यस दिन जानकी मन्दिरमा त्रेतायुगमा भगवान् राम र माता सीताको विवाहका बेला मिथिलावासीले गाउने गीत, हाँसोठट्टा तथा गाली गर्ने परम्परालाई समेत दोहोर्‍याइन्छ । नवदम्पतीहरूले पनि यो पर्वलाई विशेष उत्साहका साथ मनाउने गर्छन् ।


यस पर्वको अवसरमा जानकी मन्दिरमा महोत्तरीको रतौलीबाट भार ल्याउने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ । रतौलीका स्वर्गीय महेन्द्र ठाकुरको परिवारले करिब १४२ वर्षदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन अन्नपूर्ण देवीलाई चढाउने सामग्रीसहितको भार जानकी मन्दिरमा ल्याउँदै आएको छ ।

सन्तान प्राप्तिको कामना गर्दै महेन्द्र ठाकुरले गरेको भाकल पूरा भएपछि उनका तीन छोरा जन्मिएको धार्मिक विश्वास र पारिवारिक परम्पराका आधारमा भार चढाउने चलन सुरु भएको बताइन्छ । त्यसयता ठाकुर परिवारले हरेक वर्ष यस दिन जानकी मन्दिरमा भार अर्पण गर्दै आएको छ ।

भारमा दही, चिउरा, दाल, मिठाई, अचार, फलफूल, तरकारीलगायतका खाद्य सामग्री समावेश हुन्छन् । यी सामग्री ठाकुर परिवारले आफ्नै खेतबारीमा उत्पादन गर्नुका साथै घरमै तयार पारेर मन्दिरमा ल्याउने गरेको छ ।

स्वर्गीय महेन्द्र ठाकुरका जेठा छोरा नवीनकुमार ठाकुरले यस परम्परालाई आगामी पुस्ताले पनि निरन्तरता दिने बताएका छन् । उनका अनुसार कोजाग्रत पूर्णिमा मिथिलामा विवाहपञ्चमीपछिको महत्वपूर्ण पर्व हो । यस दिन भाकल गरे मनोकामना पूरा हुने धार्मिक विश्वाससमेत मिथिलावासीमा रहेको उनले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *