एक वर्षको निर्वासनपछि भेनेजुएला फर्किइन् विपक्षी नेतृ मचाडो

डिसी नेपाल
९ कार्तिक २०८३ १२:४६

काराकस। भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडो करिब एक वर्षको निर्वासनपछि आइतबार स्वदेश फर्किएकी छन्। उनी स्वदेश फर्किँदा हजारौँ समर्थकहरूले राष्ट्रिय झण्डा फहराउँदै ‘स्वतन्त्रता’ को नारा लगाएर स्वागत गरेका थिए।

मचाडोको यो पुनरागमनलाई राजनीतिक सङ्क्रमणकालीन दौरबाट गुज्रिरहेको भेनेजुएलाका लागि एक महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। समर्थकहरूले नयाँ निर्वाचनको माग गरिरहेका भए पनि हालको अन्तरिम सरकारले भने चुनावको मिति तोकेको छैन।

मचाडो गत डिसेम्बरमा नोबेल शान्ति पुरस्कार ग्रहण गर्नका लागि देश बाहिर गएकी थिइन्। उनको पार्टीका अनुसार त्यसपछि स्वदेश फर्कने उनका कम्तीमा सातवटा प्रयास असफल भएका थिए।

उनका राजनीतिक प्रतिद्वन्द्वी तथा पूर्वराष्ट्रपति निकोलस मदुरो नौ महिनाअघि अमेरिकी सैन्य कारबाहीमा पक्राउ परी अमेरिकी जेलमा रहेपछि उनकी सहयोगी डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपति बन्दै शासन सत्ता सम्हालेकी थिइन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मचाडोको स्वदेश फिर्तीबारे आफूलाई पूर्वजानकारी नभएको बताएका छन्। यद्यपि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने वार्ताका माध्यमबाट भेनेजुएलामा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन गराउने र स्थायी लोकतन्त्र स्थापना गर्ने सुवर्ण अवसर रहेको प्रतिक्रिया दिएका छन्।

मचाडोको पार्टीले सन् २०२७ मा निष्पक्ष निर्वाचन गराउन र उनलाई राष्ट्रपतीय प्रतिस्पर्धामा सहभागी हुने वातावरण बनाउन माग गरेको छ। यसअघि निर्वाचनपछिको दमनमा २८ जनाको मृत्यु भएको र दुई हजार चार सयभन्दा बढी मानिस पक्राउ परेका थिए।

विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार भएको भेनेजुएलामा हाल दैनिक करिब १० लाख ब्यारेल कच्चा तेल उत्पादन भइरहेको छ, जुन एक दशकअघि दैनिक ३० लाख ब्यारेल थियो।

हालको अन्तरिम सरकारले भने अमेरिकी तथा अन्य विदेशी कम्पनीहरूलाई तेल र ग्यासको खोजी, उत्पादन र निर्यातका लागि सहज पहुँच दिने सम्झौता गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *