राष्ट्रिय टोलीमा बोलाइएपछि साहिबजादा फरहान पाकिस्तान फर्किने
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि स्वदेश फर्किने भएका छन्।
श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखलाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बोलाएपछि उनी फर्किन लागेका हुन्।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि फरहान पुनः एनपीएल खेल्न नेपाल फर्किने सम्भावना रहेको छ। उनी अनुपस्थित रहने अवधिभर टोलीका लागि अर्को वैकल्पिक विदेशी खेलाडी ल्याउने तयारी कर्णालीले गरेको छ।
यसैबीच, पीसीबीले एनपीएलका लागि नेपाल आइसकेका पाकिस्तानी खेलाडीहरूको अनापत्ति प्रमाणपत्र (एनओसी) बापत थप २५ हजार अमेरिकी डलर माग गरेको भन्दै निर्देशक घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन्।
अन्तिम समयमा आएर थप रकम माग्ने निर्णयले टोली व्यवस्थापनलाई निराश बनाए पनि यस घटनालाई पाकिस्तानसँगको सम्बन्ध बिगार्ने माध्यमका रूपमा नलिइएको उनले स्पष्ट पारे। आपसी सम्बन्ध र क्रिकेटको विकासलाई ध्यानमा राख्दै समस्याको साकारात्मक समाधान खोजिने उनको भनाइ छ।
कर्णाली याक्सले यस सिजनका लागि फरहानका साथै अर्का पाकिस्तानी खेलाडी हुसेन तलातलाई पनि अनुबन्ध गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment