एनपीएल सफल बनाउन सबैको सकारात्मक सहयोग आवश्यक : क्यान अध्यक्ष चन्द

डिसी नेपाल
८ कार्तिक २०८३ १८:२२

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) लाई सफल बनाउन सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताएका छन्।

एनपीएलको तेस्रो संस्करण सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन सञ्चारमाध्यमसहित सबै सरोकारवालाको सक्रिय तथा सकारात्मक भूमिका अपेक्षा गरेको बताए।

उनले भने, ‘एनपीएललाई सफल पार्न सबैको सकारात्मक भूमिका र सक्रिय सहयोगको अपेक्षा गरेको छु। प्रतियोगितालाई सफल बनाउन सञ्चारमाध्यमलगायत सबै सरोकारवालाको सहयोग आवश्यक छ।’

उनले एनपीएल सञ्चालनका लागि गठित कमिटी अधिकारसम्पन्न रहेको उल्लेख गर्दै उक्त कमिटीले गरेका निर्णय क्यानको बोर्डमा पेस भएपछि छलफल हुने बताए।

एनपीएलसम्बन्धी सबै गतिविधिको जानकारी तत्काल बोर्डका सबै सदस्यलाई नहुने स्पष्ट पार्दै उनले आवश्यक निर्णय प्रक्रियाअनुसार बोर्ड तथा साधारणसभाबाट अनुमोदन गरिने जानकारी दिए।

एनपीएलको लेखापरीक्षणबारे उठेका प्रश्नको जवाफ दिँदै चन्दले कानुनी व्यवस्थाका कारण लिगको लेखापरीक्षण क्यानकै माध्यमबाट गर्नुपर्ने अवस्था आएको बताए।

लेखापरीक्षण प्रतिवेदनमा कार्यकारी अध्यक्ष, सचिव र कोषाध्यक्षको हस्ताक्षर आवश्यक पर्ने उल्लेख गर्दै उनले प्रतिवेदन बोर्डबाट पारित गराएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा पठाउनुपर्ने प्रक्रिया रहेको जानकारी दिए।

उनले पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा उल्लेख्य सुधार भएको दाबी गर्दै आगामी संस्करणमा पनि प्रतियोगितालाई थप व्यवस्थित बनाउँदै लैजाने बताए। निर्णय प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन एनपीएल कमिटीलाई आवश्यक अधिकार दिइएको उनको भनाइ थियो।

यसैगरी, क्यानका सचिव पारस खड्काले एनपीएलको तेस्रो संस्करणका लागि करिब ९५ देखि ९९ प्रतिशत तयारी पूरा भएको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *