एनपीएल : नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान र विकासमा ‘टर्निङ प्वाइन्ट’

डिसी नेपाल
९ कार्तिक २०८३ ७:३६

काठमाडौं। कुनै समय नेपालमा क्रिकेटलाई सीमित खेलका रूपमा मात्र हेरिन्थ्यो। क्रिकेट खेल्ने र हेर्नेहरूको जमात निरन्तर बढ्दै गए पनि यसलाई एउटा व्यावसायिक उद्योगका रूपमा विकास गर्ने सम्भावनाबारे पर्याप्त बहस र छलफल हुँदैनथ्यो। तर टी–२० क्रिकेटको लोकप्रियता जब चुलियो, तब नेपाली खेलप्रेमीहरूमाझ क्रिकेटप्रतिको दृष्टिकोणमा व्यापक परिवर्तन आयो। अहिले त्यो दृष्टिकोण झन् फराकिलो बन्दै नेपाल प्रिमियर लिग (एनपीएल) सम्म आइपुग्दा यो परिवर्तनले बृहत् रूप र गति लिएको छ।

एनपीएल नेपाली क्रिकेटको समग्र विकास, अन्तर्राष्ट्रिय पहिचान र खेलकुदलाई उद्योगका रूपमा स्थापित गर्ने सम्भावनाको अत्यन्तै महत्त्वपूर्ण माध्यम बनेको अग्रज खेल पत्रकारहरूले प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा चिनाउने अवसर सिर्जना गर्नुका साथै खेलकुद पत्रकारिताको शैली, प्रविधि र जिम्मेवारीमा समेत सकारात्मक परिवर्तन ल्याएको छ।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा अग्रज खेल पत्रकारहरू महेश आचार्य, लक्ष्मण कार्की र रोशन सिंह राउतले एनपीएलको महत्त्व, नेपाली क्रिकेटले पछिल्लो समय हासिल गरेको अभूतपूर्व प्रगति तथा विगत र वर्तमानको खेलकुद रिपोर्टिङबीचको भिन्नताबारे आफ्ना गहन धारणाहरू राखेका छन्।

एनपीएल: क्यानको ‘प्रिमियम प्रोडक्ट’ र पर्यटन प्रवर्द्धनको माध्यम

खेल पत्रकार महेश आचार्यका अनुसार एनपीएल अहिले नेपाल क्रिकेट संघ (क्यान) को प्रमुख उत्पादन (प्रिमियम प्रोडक्ट) का रूपमा स्थापित हुँदै गएको छ। विश्वविख्यात अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता, प्रतियोगिताको बढ्दो लोकप्रियता र आयोजनामा देखिएको परिपक्वताले यसलाई थप आकर्षक र स्तरीय बनाएको उनको भनाइ छ।

पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा उल्लेखनीय सुधार देखिएको र आगामी संस्करणहरू अझ व्यवस्थित तथा उत्कृष्ट हुने अपेक्षा गरिएको आचार्यले बताए। टेस्ट राष्ट्रका विश्वस्तरीय खेलाडीहरूको सहभागिता र प्रतियोगिताको बढ्दो स्तरले नेपाल प्रिमियर लिगलाई थप उचाइमा पुर्याउने उनको दृढ विश्वास छ।

उनले भने, ‘नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई आफ्नो प्रिमियम प्रोडक्टको रूपमा सेल गरिरहेको वा डेभलप गरिरहेको छ। इन्टरनेसनल खेलाडीहरूको उपस्थिति अर्थात् जुन लेभल वा स्ट्यान्डर्डका प्लेयरहरू अहिले आउन थालेका छन्, यसले प्रिमियर लिगलाई धेरै माथि पुर्याउँछ।’

आचार्यका अनुसार एनपीएलको महत्त्व केवल एउटा क्रिकेट प्रतियोगितामा मात्र सीमित छैन। यसले अन्तर्राष्ट्रिय क्रिकेटको नक्सामा नेपालको उपस्थिति बलियो बनाउनुका साथै खेलकुदलाई आर्थिक गतिविधि र एउटा दिगो उद्योगका रूपमा विकास गर्ने सम्भावना पनि देखाएको छ।

अन्तर्राष्ट्रिय खेलाडीहरू नेपालमा आएर खेल्दा उनीहरूले यहाँको वातावरण, मौलिक संस्कृति र पर्यटकीय सम्भावनाबारे प्रत्यक्ष अनुभव गर्ने तथा आफ्नो देश फर्किएपछि सामाजिक सञ्जालमार्फत ती अनुभवहरू साझा गर्ने भएकाले देशको पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुग्ने आचार्यको विश्लेषण छ।

एनपीएलमा निजी क्षेत्रको सहभागिता निरन्तर बढ्दै जाँदा खेलकुदको व्यावसायिक विकासले थप गति लिने अपेक्षा पनि उनले व्यक्त गरे। यस प्रतियोगिताले खेलकुदलाई मनोरञ्जन वा प्रतिस्पर्धामा मात्र सीमित नराखी आर्थिक गतिविधिसँग जोड्ने बलियो आधार तयार गरिरहेको उनले बताए।

प्रविधिसँगै बदलियो खेलकुद पत्रकारिताको स्वरूप

नेपाली खेलकुद पत्रकारितामा विगत र वर्तमानबीच ठूलो परिवर्तन आएको आचार्यको लामो अनुभव छ। सन् २००१ मा खेलकुद पत्रकारिता सुरु गर्दा क्रिकेटको रिपोर्टिङ गर्न आवश्यक आधारभूत सुविधा र इन्टरनेटको पहुँचसमेत सहज नभएको दिनहरू उनले स्मरण गरे।

त्यतिबेला त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुगेर खेलको प्रत्येक ओभरको स्कोर र अन्य विवरण डायरीमा टिपोट गर्ने तथा कार्यालय फर्किएपछि त्यसकै आधारमा समाचार तयार पार्ने जटिल अवस्था रहेको उनले बताए।

इन्टरनेट र डिजिटल प्रविधिको तीव्र विकासले समाचार सङ्कलन, तथ्यको पहुँच र समाचार सम्प्रेषणलाई अहिले निकै सहज बनाएको उनको भनाइ छ। खेलकुद पत्रकारहरूले पहिलेभन्दा छिटो सूचना प्राप्त गर्न र पाठकसम्म पुर्याउन सक्ने आधुनिक वातावरण बनेको उनले बताए।

पत्रकारिताको शैलीमा आएको परिवर्तनसँगै क्रिकेट खेलिने पूर्वाधारमा पनि उल्लेखनीय सुधार भएको उनको भनाइ छ। विगतमा कीर्तिपुरस्थित मैदानमा दर्शकहरूले घाँसमा बसेर धुलो, हिलो र पानीको सामना गर्दै खेल हेर्नुपर्ने बाध्यता थियो। अहिले भने व्यवस्थित रङ्गशाला र प्यारापिट निर्माण भएसँगै खेल हेर्ने वातावरणमा ठूलो परिवर्तन आएको उनले बताए। आचार्यका अनुसार क्रिकेटको विकाससँगै त्यसको रिपोर्टिङ गर्ने शैलीमा आएको सुधार पनि नेपाली खेलकुदको समग्र प्रगतिको एउटा सुन्दर उदाहरण हो।

एनपीएल: क्रिकेट ग्ल्यामर, अर्थतन्त्र र राष्ट्रिय पहिचान

यसैगरी अर्का खेल पत्रकार लक्ष्मण कार्कीका अनुसार एनपीएलले नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको आकर्षण, प्रतिस्पर्धा र व्यावसायिकताको नयाँ आयाम थपेको छ। प्रतियोगिताले खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नराखी अर्थतन्त्र, सामाजिक एकता र राष्ट्रिय पहिचानसँग जोड्ने काम गरेको उनको विश्लेषण छ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा कार्कीले एनपीएलको तेस्रो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले प्राविधिक, व्यावसायिक र लोकप्रियताका दृष्टिले उल्लेखनीय प्रगति गरेको बताए। अन्तर्राष्ट्रिय खेलाडीको बाक्लो सहभागिता, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को प्रयोग तथा खेल पूर्वाधारमा भएको सुधारले एनपीएललाई नयाँ उचाइमा पुर्याएको उनको भनाइ छ।

तीन वर्षमा बदलिएको स्वरूप

विश्व क्रिकेटमा टी–२० प्रारूपको विस्तारले खेलप्रतिको आकर्षण र प्रस्तुति दुवैमा व्यापक परिवर्तन ल्याएको कार्की बताउँछन्। छोटो समयमा धेरै रन बन्ने, चौका–छक्काको रोमाञ्चकता र खेलको तीव्र गतिले क्रिकेटलाई थप आकर्षक बनाएको उनको भनाइ छ। यही स्वरूपले क्रिकेटमा ग्ल्यामर र व्यावसायिकताको सम्भावना बढाएको छ।

नेपालमा पनि एनपीएल सुरु हुनुअघि छोटो प्रारूपका क्रिकेट प्रतियोगिताहरू आयोजना गर्ने विभिन्न प्रयास भएका थिए। तर ती प्रयासहरूले अपेक्षित सफलता हासिल गर्न नसकेको कार्कीको विश्लेषण छ। नेपाल क्रिकेट संघ (क्यान) ले आफैँ व्यवस्थित रूपमा प्रतियोगिता आयोजना गर्न थालेपछि भने नेपालमा पनि विश्व क्रिकेटमा विकसित हुँदै गएको टी–२० को आकर्षण व्यापक रूपमा विस्तार भएको उनले बताए।

आन्द्रे रसेल र डेभिड मिलरजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीहरूको सहभागिताले नेपाली दर्शकमा थप उत्साह जगाएको कार्कीको धारणा छ। टेलिभिजनका पर्दामा मात्र देखिएका दिग्गज खेलाडीहरूलाई आफ्नै घरेलु मैदानमा प्रत्यक्ष खेलिरहेको हेर्न पाउनु क्रिकेटप्रेमीहरूका लागि विशेष र अविस्मरणीय अनुभव बनेको उनले बताए।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्यारापिट निर्माण तथा खेल पूर्वाधारमा भएका सुधारहरूले पनि प्रतियोगिताको आकर्षण बढाएको उनको भनाइ छ। ‘तीन वर्षमा नै एनपीएलले प्राविधिक पक्ष, फ्यान फलोइङ र अन्तर्राष्ट्रिय मान्यताका हिसाबले ठूलो उचाइ हासिल गरेको जस्तो लाग्छ,’ कार्कीले भने।

खेलकुद पत्रकारिता: परम्परागत माध्यमदेखि डिजिटल प्लेटफर्मसम्म

एनपीएलको विकाससँगै यसको रिपोर्टिङ गर्ने माध्यम र शैलीमा पनि ठूलो परिवर्तन आएको कार्की बताउँछन्। पहिले छापा पत्रिका, रेडियो र टेलिभिजन खेलकुद पत्रकारिताका प्रमुख माध्यम थिए। अहिले भने सामाजिक सञ्जाल, युट्युब च्यानल र डिजिटल कन्टेन्ट क्रिएटरहरूले पनि खेलकुद सामग्री उत्पादन र प्रसारमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।

उनका अनुसार परम्परागत सञ्चारमाध्यममा नियमित खेलकुद रिपोर्टिङ हुँदै आएको छ। त्यससँगै क्रिकेटलाई नै केन्द्रमा राखेर सञ्चालन गरिएका युट्युब च्यानल र सामाजिक सञ्जालका सामग्रीहरूले खेलबारे छलफल र विश्लेषणको दायरा निकै विस्तार गरेका छन्।

एनपीएलको चर्चा नेपालमा मात्र सीमित नरहेको उल्लेख गर्दै कार्कीले भारतीय खेलकुद कन्टेन्ट क्रिएटर र युट्युब च्यानलहरूले समेत प्रतियोगिताबारे विश्लेषणत्मक सामग्रीहरू प्रस्तुत गर्न थालेको बताए। यसले प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा समेत विदेशी दर्शकको ध्यान आकर्षित गरिरहेको प्रस्ट सङ्केत गर्ने उनको भनाइ छ। तर रिपोर्टिङको बढ्दो मात्रा र लोकप्रियतासँगै पत्रकारिताको आलोचनात्मक र विश्लेषणात्मक पक्षलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने कार्कीको धारणा छ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नयाँ पहिचान

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रमुख आधारका रूपमा परम्परागत रूपमा सगरमाथा र भगवान् बुद्धलाई लिने गरिन्छ। तर पछिल्लो समय क्रिकेट पनि नेपालको पहिचान विश्वभर विस्तार गर्ने अर्को सशक्त माध्यमका रूपमा विकसित हुँदै गएको कार्कीको भनाइ छ। एनपीएलमा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता र प्रतियोगिताप्रति बढ्दो दर्शक आकर्षणले नेपालको क्रिकेटलाई विश्वव्यापी चर्चासँग जोड्न ठूलो सहयोग गरेको उनले बताए।

यसैगरी वरिष्ठ खेल पत्रकार रोशन सिंह राउतले एनपीएललाई नेपाली क्रिकेटको स्तर अन्तर्राष्ट्रियकरण गर्ने महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा व्याख्या गरे। उनका अनुसार प्रतियोगिताका पछिल्ला संस्करणहरूसँगै अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता, खेल सञ्चालनको स्तर र आधुनिक प्रविधिको प्रयोगमा व्यापक सुधार हुँदै गएको छ।

उनले एनपीएलमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता र डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को प्रयोगलाई नेपाली क्रिकेटको इतिहासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे।

यद्यपि प्रविधिको प्रयोगले खेलकुद पत्रकारको जिम्मेवारी र चुनौती पनि थपेको राउतको भनाइ छ। क्रिकेटका नियममा निरन्तर हुने परिवर्तन, डीआरएसको आधुनिक कार्यप्रणाली र मैदानमा हुने विवादित निर्णयहरूको प्राविधिक पक्ष गहिरोसँग बुझ्नु अहिलेका पत्रकारहरूका लागि अनिवार्य भएको उनले बताए।

‘हामीले पहिलेभन्दा धेरै आफूलाई परिमार्जित गरेर लैजानुपर्छ। कुन नियम परिवर्तन भएका छन्, डीआरएसले कसरी नतिजा दिन्छ भन्ने विषयमा पूर्ण रूपमा जानकार हुनुपर्छ,’ राउतले भने।

खेलको प्रत्यक्ष विवरण प्रस्तुत गर्नु मात्र पत्रकारिताको मुख्य उद्देश्य नभई खेलका सूक्ष्म नियम, निर्णयको आधार र प्रविधिको प्रभावबारे स्पष्ट जानकारी राखेर समाचार सम्प्रेषण गर्नु पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ। यसका लागि पत्रकारहरूले निरन्तर अध्ययन, अभ्यास र आफ्नो ज्ञान अद्यावधिक गरिरहनुपर्ने उनले बताए।

राउतले नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रगति गरे पनि त्यसलाई निरन्तरता दिन थप संरचनात्मक सुधार आवश्यक रहेको धारणा राखे। नेपालले नियमित रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाउनु सकारात्मक भए पनि एकदिवसीय क्रिकेटतर्फको क्षमता विस्तार र भविष्यमा टेस्ट क्रिकेटतर्फ अघि बढ्न आवश्यक पूर्वाधार विकासमा राज्य र सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उनको भनाइ छ।

आकांक्षा धामी / नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *