हिमपातका कारण अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो
बैतडीको सतबाँझ क्षेत्रमा भएको हिमपातमा रमाउँदै आन्तरिक पर्यटक । हिउँ खेल्नका लागि जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रका पर्यटक आउने गरेका छन् । तस्वीरः विनोद सिंह विष्ट/रासस
अमरगढी। हिमपातका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग ३८ घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य भीमदत्त राजमार्ग शनिबार दिउँसोदेखि सञ्चालनमा आएको हो ।
हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो । सयौँ यात्रु अलपत्रमा परेका थिए ।
सडक डिभिजन कार्यालय, अमरगढी नगरपालिका, आलिताल, अजयमेरु र गन्यापधुरा गाउँपालिकाको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाइएको थियो । मध्याह्नदेखि एकतर्फीरूपमा यातायात सञ्चालनमा आएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।
हिमपातका कारण डोटीको गैरा, डडेल्धुराको हगुल्टे क्षेत्रमा अलपत्रमा परेका सवारीसाधन अहिले राजमार्ग सञ्चालन भएपछि आआफ्नो गन्तव्यतिर लागिरहेका छन् । भीमदत्त राजमार्गको मेलखर्क, हगुल्डे, साहुँखर्क बजारलगायत डोटीको गैरा क्षेत्रमा करिब तीन फिट बाक्लो हिउँ जमेका कारण राजमार्ग अवरुद्ध भएको थियो । रासस







डिसी नेपाल








Facebook Comment